तनहुँ, ६ जेठ २०८२ः
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका–४ स्थित गोरेचौतारामा बस र टिप्पर एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
रुकुम पश्चिमबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको बाग्मती प्रदेश ०१–००१ अ–यो ००२७ नम्बरको टिप्पर आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) अशोक थापाका अनुसार दुर्घटनामा रुकुम पश्चिम बाँकेकोट गाउँपालिका–७ का ४९ वर्षीय हरिशचन्द्र खत्री गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर रिफर गरिएको छ।
त्यस्तै, मुसिकोट नगरपालिका–६ का ३५ वर्षीय चन्द्रबहादुर रावल, सानिभेरी नगरपालिका–४ का १७ वर्षीय बिन्दु वली, सोही स्थानका ५० वर्षीय भद्रबहादुर वली, रुकुम पश्चिमकै ३५ वर्षीया शर्मिला पाण्डे, बस चालक नुवाकोट मेघा नगरपालिका–५ का संजोग नेपाली र टिप्पर चालक भानु नगरपालिका–१२ का ४४ वर्षीय शंकर अधिकारी सामान्य घाइते भएका छन्।
डिएसपी थापाका अनुसार खत्रीबाहेक अन्य सबैको अवस्था सामान्य छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।