महिला टी–२० एसिया छनोट: थाइल्यान्डसँग ७८ रनले नेपाल पराजित

काठमाडौँ, ५ जेठ २०८२:

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ चरणको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनको ठूलो अन्तरले पराजित भएको छ।

थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा टस जितेपछि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा दुई विकेटको क्षतिमा १५८ रन बनायो। जवाफी इनिङ्समा नेपाल २० ओभरमा ९ विकेट गुमाएर ८० रनमा सीमित भयो।

नेपालका लागि कविता कुँवरले सर्वाधिक २४ रन बनाइन्। राजमति ऐरीले अविजित २० तथा कप्तान रूविना क्षेत्रीले १२ रन जोडिन्। बाँकी खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

थाइल्यान्डका बलर ओन्निचा कामचोम्फुले घातक प्रदर्शन गर्दै ४ विकेट लिइन्। थिपाचा पुथावोङले ३ विकेट र सुलेपोर्न लाओमीले १ विकेट हात पारिन्।

यसअघि थाइल्यान्डका लागि नन्नापत कोन्चारोएनकाईले २८ बलमा आठ चौकाको मद्दतले अविजित ५० रन बनाइन्। नटाया बुचथमले पनि ५० रन (५ चौका सहित ४२ बलमा) बनाउँदै शानदार योगदान दिइन्। अपिसरा सुवान्चोराथीले २९ तथा नथ्थकन चन्थमले अविजित १५ रन बनाए।

नेपालका लागि राजमति ऐरी र मनिषा उपाध्यायले समान एक–एक विकेट लिइन्।

यद्यपि, नेपाल र थाइल्यान्ड दुबै टिम यसअघि नै ग्लोबल छनोटमा पुगिसकेका छन्। सुपर–३ चरणको पहिलो खेलमा दुबै टिमले युएईलाई पराजित गर्दै विश्वकप ग्लोबल छनोटमा स्थान सुरक्षित गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!