मकवानपुरगढी, ६ जेठ २०८२ः
मकवानपुरको भीमफेदी गाउँपालिकामा मङ्गलबार दिउँसो ब्रेक फेल भएर विङ्गर गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
चित्लाङबाट बाराको लालबन्दीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको गाडी त्रिभुवन राजपथ अन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित छैसठी मोडमा सडकबाट करिब २० मिटर तल खस्दा दुर्घटना भएको हो।
गाडी रुखमा अड्किएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भैंसे र सिमभञ्ज्याङबाट खटिएको २५ जना प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी हेटौंडा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो।
दुर्घटनामा घाइते भएका १४ यात्रुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।