काठमाडौँ , ६ जेठ २०८२ः
सरकारले अर्थविद् प्रा.डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८औँ गर्भनरमा नियुक्त गरेको छ। आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकको गर्भनर पद गत चैत २४ गतेदेखि रिक्त थियो। सो पद पूर्ति गर्न गठित सिफारिस समितिले तीन जनाको नाम सरकारलाई सिफारिस गरेको थियो। तीमध्ये प्रा.डा. पौडेलको नाममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति जुटेपछि उहाँको नियुक्ति टुंगो लागेको हो।
अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी गर्नुभएका पौडेल हाल काठमाडौं विश्वविद्यालयको ‘स्कुल अफ म्यानेजमेन्ट’मा प्राध्यापन गर्दै आउनुभएको छ। यसअघि उहाँ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ मन्त्रालयका सल्लाहकार, तथा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का आर्थिक सल्लाहकार समेत रहनुभइसकेको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पौडेलले नेपाली कांग्रेसको उम्मेदवारका रूपमा चितवन क्षेत्र नं. १ बाट चुनाव लड्नुभएको थियो, जहाँ उहाँ पराजित हुनुभएको थियो।
नेपाल राष्ट्र बैंक ऐनअनुसार कार्यरत गर्भनरको कार्यकाल सकिनुभन्दा कम्तीमा एक महिना अगाडि नयाँ गर्भनर सिफारिस हुनुपर्ने व्यवस्था छ। तर, राजनीतिक सहमति जुट्न ढिलाइ हुँदा नियुक्तिमा पनि समय लागेको हो।
सिफारिस समितिले प्रा.डा. विश्व पौडेलका अलावा राष्ट्र बैंकका कार्यबाहक गर्भनर नीलम ढुंगाना तिम्सिना र पूर्व सचिव दिनेश भट्टराईको नाम पनि सिफारिस गरेको थियो।