काठमाडौं, ७ जेष्ठ २०८२ः
नेपालको कुखुरापालन क्षेत्रमा नयाँ युगको सुरुवात गर्दै, विश्वमै उत्कृष्ट मानिने ब्रोइलर जात ROSS 308 को औपचारिक शुभारम्भ काठमाडौंमा सम्पन्न भएको छ।
काठमाडौंको मेरियट होटलमा आयोजित कार्यक्रममा पोल्ट्री व्यवसायी, पशु चिकित्सक, पोल्ट्री विज्ञ तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ROSS 308 लाई नेपालमा ल्याउन क्वालिटी ह्याचरी प्रा. लि. ले पहल गरेको हो, जसमा विश्वप्रसिद्ध पोल्ट्री ब्रिडिङ कम्पनी Aviagen को सहकार्य रहेको छ।

कार्यक्रममा Aviagen का प्रतिनिधि लारी ब्लाकस्टोन ले ROSS 308 को विश्वव्यापी सफलता, उत्पादन क्षमता, रोग प्रतिरोधात्मक क्षमता तथा व्यवसायिक फाइदाका बारेमा प्रस्तुतीकरण गरे। यस्तै, पोल्ट्री पोषण विशेषज्ञ कार्थिक केशवन ले ROSS 308 को पोषण आवश्यकताबारे विस्तृत जानकारी प्रस्तुत गरे।
क्वालिटी ह्याचरीका अध्यक्ष बिजय मानन्धर ले स्वागत मन्तव्य दिँदै ROSS 308 प्यारेन्टले अन्य जातको तुलनामा १५ देखि २० चल्ला बढी उत्पादन गर्ने जनाउँदै यसले करिब १०–१५ प्रतिशत उत्पादन लागतमा कमी ल्याउने विश्वास व्यक्त गरे। कार्यक्रमको सञ्चालन कम्पनीका प्राविधिक तथा बिक्री प्रमुख डा. जनक मजाकोटीले गर्नुभएको थियो।

उक्त जातले विश्वभर उच्च उत्पादन र कम लागतमा उत्कृष्ट नतिजा दिँदै आएको र अब नेपाली बजारमा पनि नयाँ सम्भावनाहरूको ढोका खोल्ने विश्वास गरिएको छ। कार्यक्रमपछि सहभागीहरूबीच नेटवर्किङ सेसन गरिएको थियो।
ROSS 308 को आगमनसँगै नेपालमा विश्वस्तरीय पोल्ट्री ब्रिडको प्रवेश भएको आयोजकहरू बताउँछन्। उनीहरूका अनुसार यो ब्रिडको माध्यमबाट नेपाली कुखुरापालन उद्योगमा गुणात्मक रूपान्तरण सम्भव हुने विश्वास गरिएको छ।

के हो ROSS 308 ?
ROSS 308 विश्वमै सबैभन्दा धेरै प्रयोग गरिने ब्रोइलर जात हो, जुन Aviagen कम्पनीद्वारा विकास गरिएको हो। यो जात विशेषगरी मासु उत्पादनका लागि पालन गरिन्छ र यसको उत्पादन क्षमता, रोग प्रतिरोध, खोरको वातावरणसँगको अनुकूलता, तथा आहार उपयोग दक्षताका कारण विश्वभर किसानहरूको पहिलो रोजाइमा पर्दछ।
ROSS 308 को प्रमुख विशेषताहरू:
✅ छिटो वृद्धि दर
ROSS 308 ले अन्य जातको तुलनामा कम समयमा बढी तौल लिन्छ।
✅ उच्च फिड कन्भर्सन रेसियो (FCR)
यो जातले थोरै दानामा धेरै तौल बढाउँछ। जसले गर्दा किसानको उत्पादन लागत घट्छ।
✅ सन्तुलित शारीरिक संरचना
शरीर सन्तुलन राम्रो हुने भएकाले खुट्टासम्बन्धी समस्याहरू कम देखिन्छन्।
✅ रोग प्रतिरोधात्मक क्षमता
ROSS 308 ले वातावरणीय दबाब सहन सक्ने क्षमता राख्छ, जसले गर्दा विभिन्न रोगहरूबाट जोगिन सजिलो हुन्छ।
नेपालका लागि यसको महत्त्व
नेपालको पोल्ट्री उद्योग तीव्र रूपमा विस्तार हुँदैगर्दा, उच्च उत्पादन क्षमता भएको र कम लागतमा पाल्न सकिने जातहरूको माग बढ्दो छ। ROSS 308 को आगमनले नेपाली किसानलाई अन्तर्राष्ट्रियस्तरको उत्पादन क्षमता सहितको विकल्प दिएको छ। यसले पोल्ट्री व्यवसायलाई अझ प्रतिस्पर्धी, लाभदायक र दिगो बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।