काठमाडौँ, १० जेठ २०८२ —
गृहमन्त्री रमेश लेखकले आफूमाथि लगाइएको आरोपहरूलाई अस्वीकार गर्दै, यदि कुनै पनि आर्थिक अनियमितता प्रमाणित भए पद मात्र होइन, राजनीतिबाटै अलग्गिने घोषणा गरेका छन्।
आज काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागसँग सम्बन्धित विवादबारे सफाइ दिएका हुन्।
उहाँले गृह मन्त्रालय अन्तर्गत हजारौँ कर्मचारी रहेको उल्लेख गर्दै, “कुनै एक कर्मचारीमाथि अनुसन्धान भएपछि मन्त्रीले राजीनामा दिनुपर्ने परम्परा बसाल्नु असम्भव छ,” भन्दै त्यस्तो मागप्रति असन्तुष्टि व्यक्त गरे।
‘राजनीतिक षड्यन्त्रको सिकार बनाइयो’
लेखकले पछिल्लो समय आफूमाथि भएका आरोपहरूलाई ‘राजनीतिक र नियोजित षड्यन्त्र’ को संज्ञा दिएका छन्। “मेरो विरुद्ध नियोजित ढंगबाट झुट्टा प्रचारबाजी भइरहेको छ,” मन्त्री लेखकले भने। “सार्वजनिक वा राजनीतिक जीवनमा म संलग्न भएको कुनै पनि आर्थिक अनियमितता प्रमाणित भए म राजनीतिबाटै अलग्गिन्छु।”
उहाँले यस विषयमा विस्तृत धारणा प्रतिनिधिसभाको आगामी बैठक (जेठ १३) मा राख्ने जानकारी समेत गराएका छन्।
गृह मन्त्रालयको विज्ञप्ति : नेतृत्वको संलग्नता छैन
यसअघि आजै गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयसँग सम्बन्धित घटनामा मन्त्रालयको नेतृत्वलाई जोडेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा कुनै गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको संलग्नता नरहेको प्रस्ट पारिएको छ।