भक्तपुर, १० जेठ २०८२ः
राइजिंग स्टार डान्स सेन्टर, चाँगुनारायण–१, दुवाकोटको आयोजनामा सञ्चालित भक्तपुर जिल्लास्तरीय खुल्ला एकल नृत्य प्रतियोगिताको दोस्रो चरण शनिबार सम्पन्न भएको छ।
नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा सुरु गरिएको यो प्रतियोगिता पाँच चरणमा सम्पन्न हुने भएको छ। प्रतियोगिता संयोजक दिनेश अवालका अनुसार पहिलो चरण गत साता सम्पन्न भएको थियो भने अब तेस्रो चरणतर्फ प्रतियोगिता अघि बढ्नेछ।
प्रतियोगितामा भक्तपुर जिल्लाका चार नगरपालिकाबाट एक सय ३६ जना प्रतिस्पर्धी सहभागी भएका थिए। अन्तिम चरणमा पुग्दा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने प्रतिस्पर्धीहरू विजेता घोषित गरिनेछ।
रु एक लाखसहितको पुरस्कार विजेतालाई
प्रतियोगिताको विजेतालाई नगद रु १,००,००० सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। दोस्रो हुनेलाई रु ५०,०००, तेस्रो हुनेलाई रु २५,००० तथा दुई जना सान्त्वना विजेतालाई जनही रु १०,००० नगद र प्रमाणपत्र प्रदान गरिनेछ।
शुभारम्भ नगर प्रमुख र प्रदेश सांसदबाट
दोस्रो चरणको उद्घाटन चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री र प्रदेश सांसद् सुरेश श्रेष्ठले संयुक्त रूपमा गरे। उद्घाटन कार्यक्रममा बोल्दै दुबै अतिथिले नगरकोट महोत्सवलाई भव्य बनाउने लक्ष्यका साथ आगामी दिनमा यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गरिने जानकारी दिए।
प्रतियोगिता चाँगुनारायण नगरपालिकाको हल, हेलमेट डाँडामा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी सबै प्रतिस्पर्धीलाई आयोजकले टिशर्ट पनि वितरण गरेको छ, जसको वितरण अतिथिहरुले गरे।