अध्यक्ष पदमा डा. उमेश दाहालको उम्मेदवारी: भेटेरिनरी पेशाको सुदृढ भविष्यका लागि बलियो नेतृत्वको आह्वान

काठमाडौं, १० जेठ २०८२ः

नेपाल भेटेरिनरी एसोसिएसन (NVA) को आगामी निर्वाचनको तयारी तीव्र हुदै गर्दा डा. उमेश दाहालले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। संघका केन्द्रीय सदस्य तथा केन्द्रिय महासचिवको जिम्मेवारी सम्हालीसकेका डा. दाहालले “बलियो नेतृत्व, सबल पेशा” को नारासहित भेटेरिनरी पेशाको सर्वाङ्गीण विकासको प्रतिबद्धता व्यक्त गरेका छन्।

उम्मेदवारी घोषणासँगै डा. दाहालले आफ्नो प्रमुख प्रतिबद्धताहरू सार्वजनिक गरेका छन्। उनले हाल निर्माणाधीन NVA भवनको सम्पन्नता सुनिश्चित गर्ने, सार्वजनिक, निजी, अनुसन्धान, विश्वविद्यालय तथा प्राविधिक विद्यालयमा कार्यरत सम्पूर्ण भेटेरिनरी पेशाकर्मीलाई समेटेर लैजाने योजना अघि सारेका छन्।

“भेटेरिनरी पेशा अहिले प्रविधिको युगमा छ,” डा. दाहालले भने, “अब हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थासँग सहकार्य बढाउँदै प्रादेशिक संरचनालाई समेत सशक्त बनाउनुपर्छ।”

उनले प्रादेशिक NVA कमिटीको सुदृढीकरणलाई प्राथमिकता दिने बताएका छन्, जसले देशभरका भेटेरिनरी पेशाकर्मीबीच समन्वय र समान अवसर सुनिश्चित गर्नेछ।

भेटेरिनरी क्षेत्रको दीर्घ अनुभव, नेतृत्व क्षमता र संगठन निर्माणमा विशेष दख्खल राख्ने डा. दाहालले मतदाताहरुलाई भोट र समर्थनको लागि आग्रह गरेका छन्। “यो चुनाव केवल पदका लागि होइन, पेशाको भविष्यका लागि हो,” उनले जोड दिए।

नेपाल भेटेरिनरी एसोसिएसनको निर्वाचन २०८२ जेठ १७ गते हुने तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!