काठमाडौं, १३ जेठ २०८२:
आइपीओ निष्काशनको तयारीमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको साधारण शेयरको धितोपत्र प्रत्याभूतिको जिम्मेवारी एलिट क्यापिटल लिमिटेडले लिएको छ।
आज एलिट क्यापिटल र कान्तिपुर फर्मास्युटिकल्सबीच सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा कान्तिपुर फर्मास्युटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार एलिट क्यापिटलले कान्तिपुर फर्मास्युटिकल्सको १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण सेयरको प्रत्याभूति गर्नेछ।
कम्पनीले उक्त आइपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ। आइपीओ बिक्री व्यवस्थापनको जिम्मा मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ।
वि.सं. २०७५ (सन् २०१८) मा स्थापित कान्तिपुर फर्मास्युटिकल्सले भेटेरिनरी औषधि अनुसन्धान तथा पशुपंक्षीका लागि आहारपूरक सप्लिमेन्ट उत्पादन र बिक्री वितरण गर्दै आएको छ।
कम्पनीले हालसम्म औषधि व्यवस्था विभागबाट ६१ प्रकारका औषधिको उत्पादन स्वीकृति प्राप्त गरिसकेको छ। तीमध्ये १३ प्रकारका औषधिहरूको बिक्री वितरण अनुमति प्राप्त गरी नेपाली बजारमा वितरण भइरहेको छ भने अन्य औषधिहरू पनि स्वीकृति प्रक्रियामा रहेका छन्।
त्यसैगरी, कम्पनीले २१ प्रकारका अन्य आहारपूरक सप्लिमेन्टहरूको समेत उत्पादन तथा वितरण गरिरहेको जनाएको छ। हाल कम्पनीको चुक्तापुँजी ६३ करोड रुपैयाँ रहेको छ।