रोम्वस सेकेण्डरी स्कूलले कक्षा ११ सञ्चालन गर्ने, पहिलो ५० विद्यार्थीलाई ५० प्रतिशत छुट

भक्तपुर, १५ जेठ २०८२ः

अन्तर्राष्ट्रिय मानक (ISO) प्राप्त रोम्वस सेकेण्डरी स्कूलले आगामी शैक्षिक सत्र २०८२ बाट कक्षा ११ सञ्चालन गर्ने भएको छ। भक्तपुरको कमलविनायक चोखाविनायकमा अवस्थित विद्यालयले व्यवस्थापन, कानून र मानविकी संकायमा अध्ययनको व्यवस्था मिलाउने भएको हो।

विद्यालयले बिहीबार पत्रकार सम्मेलन गरी कक्षा ११ सञ्चालनको जानकारी गराएको हो। विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र कोजुका अनुसार चाँगुनारायण नगरपालिकाको कार्यपालिका र शिक्षा समितिको २०८१ चैत २८ गतेको निर्णयबाट विद्यालयलाई अनुमति प्राप्त भएको हो।

प्रिन्सिपल डा. कोजुले भने, “उक्त निर्णयअनुसार हामीले प्रमाणपत्र प्राप्त गरेका छौं र यसै शैक्षिक वर्षदेखि कक्षा ११ सञ्चालन गर्ने तयारीमा जुटेका छौं।”

त्यस्तै, विद्यालयलाई साविक भक्तपुर नगरपालिका वडा नं. १० बाट स्थानान्तरण गरी हाल चाँगुनारायण नगरपालिका वडा नं. ७ मा स्थानान्तरण गरिएको जानकारी पनि सम्मेलनमा दिइएको थियो।

विद्यालयले कक्षा ११ मा भर्ना हुने पहिलो ५० जना विद्यार्थीलाई सम्पूर्ण शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ। साथै, विभिन्न संघसंस्था, विद्यालय तथा स्थानीय तहबाट सिफारिस भई आएका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिने भएको छ।

डा. कोजुका अनुसार भक्तपुरबाट हरेक वर्ष करिब ६ हजार विद्यार्थी कक्षा १० पास गर्छन्, तर कक्षा ११ अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता छ। “यही अवस्थालाई परिवर्तन गर्दै स्थानीयस्तरमै गुणस्तरीय र प्रतिस्पर्धात्मक शिक्षा उपलब्ध गराउने उद्देश्यले कक्षा ११ सुरु गर्न लागिएको हो,” उनले भने।

विद्यालयले सीप र प्रविधिसँग सुसज्जित विद्यार्थी उत्पादन, अन्तर्राष्ट्रिय शैक्षिक संस्था र विश्वविद्यालयसँग भगिनी सम्बन्ध विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने लक्ष्य राखेको बताइएको छ।

वि.सं. २०७० फागुन ७ मा नामकरण भई २०७१ सालदेखि शैक्षिक यात्रा सुरु गरेको रोम्वस सेकेण्डरी स्कूलमा हाल नर्सरीदेखि कक्षा १० सम्म ७०६ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा हालसम्म ४७ जिल्लाका विद्यार्थीहरू अध्ययन गरिसकेका छन्।

विद्यालयले ११ वर्षको अवधिमा आफ्नै भवन, खेलमैदान र अन्य पूर्वाधार निर्माण गरिसकेको छ। ‘सपना, संघर्ष र सफलताको सूत्र : शैक्षिक समृद्धिको यात्राले नै मात्र’ भन्ने नारासहित विद्यालय सामान्य विद्यालयका रूपमा होइन, एक प्रतिष्ठानका रूपमा विकास हुने लक्ष्यमा अघि बढिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!