काठमाडौं, १६ जेठ २०८२ः
नेपाल भेटेरिनरी एशोसियसनको राष्ट्रिय अधिवेशन तथा वार्षिक साधारण सभा २०८२ को सन्दर्भमा अध्यक्ष पदका उम्मेदवार डा. उमेश दाहालले भेटेरिनरी पेशाको सुरक्षा, समावेशी विकास र अन्तर्राष्ट्रिय पहिचान सुनिश्चित गर्ने उद्देश्य सहित आफ्ना प्रतिवद्धताहरू सार्वजनिक गरेका छन्। डा. दाहालले आफ्ना ८ बुद्दे प्रतिबद्दताहरु सार्बजनिक गरेका हुन।
डा. दाहाल नेपाल भेटेरिनरी एशोसियसनका पूर्व महासचिव तथा सदस्य हुन्। त्यस्तै, उनी पशु सेवा विभागका पूर्व महानिर्देशक समेत रहिसकेका छन्। हाल उनी मधेश प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सचिवको रूपमा कार्यरत छन्।
‘संस्था बलियो बनाउन NVA भवन सम्पन्न गर्नु मेरो प्राथमिकता हो’
अध्यक्ष पदका उम्मेदवार डा. दाहालले एशोसियसनको निर्माणाधीन भवनलाई शीघ्र सम्पन्न गरि संस्थागत मजबुतीको आधार बनाउने लक्ष्य लिएका छन्। भेटेरिनरी स्वास्थ्यकर्मीहरूका लागि दुर्घटना बिमा, पेशागत सुरक्षा, तलब सुविधा लगायतका विषयमा सरकारी तथा निजी तहमा सशक्त पैरवी गर्ने प्रतिबद्धता उनले जनाएका छन्।
समावेशी संगठन र अन्तर्राष्ट्रिय समन्वयको परिकल्पना
उनले सार्वजनिक, निजी, अनुसन्धान, विश्वविद्यालय तथा प्राविधिक शिक्षण संस्थानमा कार्यरत सबै भेटेरिनरीजनलाई एउटै संरचनामा समेट्ने योजना अघि सारेका छन्। साथै, भेटेरिनरी पेशासँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थासँग सहकार्य गर्दै नेपाललाई विश्वव्यापी भेटेरिनरी समुदायमा स्थापित गर्ने उनको अठोट छ।
नयाँ सोच, समावेशी विधान
“एशोसियसनको विधानलाई समय सान्दर्भिक बनाउँदै समावेशी र समन्यायिक बनाउने मेरो उद्देश्य हो,” डा. दाहाल भन्छन्, “भेटेरिनरी पेशालाई राष्ट्रिय गौरव र अन्तर्राष्ट्रिय पहिचान दिन म प्रतिवद्ध छु।”
उनको उम्मेदवारी सँगै आगामी अधिवेशनमा नेतृत्व चयन मात्र नभई संस्थाको भावी दिशा र नीति निर्माणबारे गम्भीर बहस हुने अपेक्षा गरिएको छ। एशोसिएसनको केन्द्रिय कार्यसमितिको साधारणसभा तथा अधिवेशन भोलि जेठ १७ गते काठमाडौँमा हुदैछ।
