काठमाडौं, १६ जेठ २०८२ः
नेपाल ह्याचरी उद्योग संघको प्रतिनिधिमण्डलले हालै नियुक्त पशुसेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीसँग भेट गरी सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। उक्त अवसरमा ह्याचरी तथा पोल्ट्री उद्योगसँग सम्बन्धित विद्यमान समस्या र चुनौतीबारे गम्भीर छलफल भएको संघले जनाएको छ।
संघका पदाधिकारीहरूले पोल्ट्री उद्योगमा देखिएका रोग नियन्त्रण, बजार व्यवस्थापन तथा सरकारी नीति कार्यान्वयनमा देखिएका समस्याहरूलाई समाधान गर्न आग्रह गरेका थिए। महानिर्देशक डा. तिवारीले पोल्ट्री उद्योगलाई समुन्नत बनाउने दिशामा आफू सकारात्मक रहेको प्रतिबद्धता जनाउँदै दीर्घकालीन समाधानको लागि सहकार्यमा जोड दिएका छन्।
संघका अनुसार भेटघाट निकै फलदायी रहेको र यसले पोल्ट्री क्षेत्रका सरोकारवालामा नयाँ उत्साह र ऊर्जा थपेको छ। आगामी दिनमा विभाग र संघबीच अझ प्रभावकारी सहकार्य हुने अपेक्षा संघले गरेको छ।