फार्मेसी क्षेत्रका समस्याबारे औषधि व्यवस्था विभागलाई फार्मेसी संघको ध्यानाकर्षण

काठमाडौं, १६ जेठ २०८२ः

नेपाल फार्मेसी संघको नवगठित कार्यसमितिले फार्मेसी पेशामा देखिएका विविध समस्या र चुनौती समाधानका लागि औषधि व्यवस्था विभागलाई ध्यानाकर्षण गराएको छ। संघका नवनिर्वाचित अध्यक्ष युवराज भुषालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालसमक्ष एक लिखित ध्यानाकर्षण पत्र बुझाउँदै औषधि क्षेत्रभित्रको अव्यवस्था, बेथिति, तथा कानुनी कमजोर पक्षहरूप्रति चासो व्यक्त गर्दै तुरुन्त सुधारका लागि पहल गर्न आग्रह गरेको हो।

ध्यानाकर्षणपत्रमा औषधि व्यवस्था विभागको संरचना संघीय स्वरूपअनुसार पुनःसंरचना गर्नुपर्ने आवश्यकता उल्लेख गरिएको छ। यसका लागि सुदूरपश्चिम प्रदेशको धनगढी र गण्डकी प्रदेशको पोखरामा शाखा स्थापना गर्न जोड दिइएको छ। त्यस्तै, दर्ता नभएका खुद्रा औषधि पसलहरू देशभर सञ्चालित रहेको भन्दै यस्ता अवैध पसलहरूलाई नियन्त्रण गर्न स्टिङ अपरेसनजस्ता निगरानी अभियान सञ्चालन गरी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउनुपर्ने माग गरिएको छ।

संघले औषधि व्यवस्था विभागका कार्यक्रमहरूमा नेपाल फार्मेसी संघको सक्रिय र समान सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएको छ। हालसम्म विभागले अन्य संस्थाहरूलाई प्राथमिकता दिँदै संघलाई बेवास्ता गर्दै आएकोप्रति आपत्ति जनाउँदै संघले औषधि क्षेत्रका हरेक तहमा समावेशी सहभागिता माग गरेको छ। अवैध औषधि पसलहरूबारे जानकारी दिन संघ पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्दै, यस्ता सूचनाको आधारमा विभागले कानुनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिइएको छ।

ध्यानाकर्षणपत्रमा फार्मासिस्ट र फार्मेसी सहायकहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि प्रत्येक वर्ष लक्षित तालिम र कार्यक्रम सञ्चालन गर्नुपर्ने विषय पनि समेटिएको छ। यस्तै, धेरै अस्पतालहरूमा कागजमा मात्र फार्मेसी देखाए पनि व्यवहारमा सञ्चालनमा नरहेको भन्दै सम्बन्धित अस्पतालहरूलाई ‘फार्मेसी निर्देशिका’ अनुसार आफैंले फार्मेसी सञ्चालन गर्न बाध्य पार्न विभागले भूमिका खेल्नुपर्ने उल्लेख छ।

सरकारी अस्पतालमा आवश्यक दरबन्दी सिर्जना गरी सबै मापदण्ड कार्यान्वयन गर्नुपर्ने, औषधि बजारमा देखिएको अनुचित बजारीकरण र कालोबजारी नियन्त्रण गर्न तुरुन्त कारबाही सुरु गर्नुपर्ने र फार्मेसी दर्ता तथा नवीकरण प्रक्रिया सजिलो बनाउन वडाबाट प्रमाणिकरण लिएर अनलाइनमार्फत नवीकरण गर्न सकिने व्यवस्था मिलाइनुपर्ने संघको माग छ।

भेटका क्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले औषधि क्षेत्रका विकृति र समस्याहरूप्रति गम्भीर भएर विभाग निरन्तर सुधार प्रक्रियामा अघि बढिरहेको बताउनुभयो। विभाग सुधार र पारदर्शिता कायम गर्न आफू सधैं कटिबद्ध रहेको उहाँको भनाइ थियो।

नेपाल फार्मेसी संघका अध्यक्ष युवराज भुषालले नेतृत्व सम्हालेसँगै संघ थप सक्रिय बनेको देखिन्छ। पेशागत अधिकार, मर्यादा, र औषधि व्यवस्थामा सुधारका विषयमा संघ संस्थागत रुपमा अघि बढ्न लागेको छ। संघले औषधि क्षेत्रलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन सबै सरोकारवालासँग सहकार्य गर्न तत्पर रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!