नेवारी परिकारको प्रवर्द्धनका लागि ‘वः फेस्टिभल’
मध्यपुर थिमि, बोदे, १७ जेष्ठ २०८२
मध्यपुर थिमि नगरपालिका र मध्यपुर पर्यटन विकास समितिको संयुक्त आयोजनामा मध्यपुर थिमि, बोदेमा स्वक्वगु ‘वः फेस्टिभल’ सम्पन्न भएको छ। स्थानीय नेवारी परिकार तथा खाजाका विविध परिकारको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा २५ वटा स्टलहरू राखिएका थिए।
पर्यटन विकास समितिका अध्यक्ष रमेश प्रजापतिका अनुसार, “नेवारी संस्कृतिमा महत्वपूर्ण स्थान राख्ने वः परिकारलाई व्यापक चिनारी दिन फेस्टिभल आयोजना गरिएको हो।”
फेस्टिभलको उद्घाटन मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले गर्नुभएको थियो। उहाँले पर्यटन प्रवर्द्धनसँगै बाराको सांस्कृतिक तथा परम्परागत महत्त्वबारे युवा पुस्तालाई जानकारी दिने उद्देश्यले यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो।
फेस्टिभलमा नेवारी खानाका विविध वः परिकारहरू जस्तै माय् वः, मुँ वः, मुसू वः, भुति वः, तरकारी वः, ला/लापी वः, खें वः, ख्वल्चा वः, भु/तःपा वः, सू/बारा वः आदि प्रस्तुत गरिएको थियो। केही परिकारलाई भने परम्परागत रूपमा ‘वः’ भनेर चिनिए तापनि तिनीहरूलाई परिकारको रूपमा मानिँदैन भन्ने जनाइएको छ।
समितिका अनुसार, लिच्छवि तथा मल्लकालदेखि नै नेवा समुदायमा जन्म, विवाह, चाडपर्व, मृत्युसम्मका विविध संस्कारमा वः परिकारको प्रयोग गरिँदै आएको छ।
वः फेस्टिभलमा स्थानीय हस्तकला, घरेलु सामग्री, पुस्तक प्रदर्शनी, मुद्रा प्रदर्शनी, फोटो प्रदर्शनी पनि गरिएको थियो। साँझपख आयोजित सांगीतिक कार्यक्रममा निशा देसार, निभा डंगोल, ओएमगी स्पार्क, इन्दिरा लाछिमस्यु लगायत स्थानिय ब्याण्डहरुको आकर्षक प्रस्तुति रहेको थियो।

