नसर्ने रोग पहिचानका लागि निशुल्क परीक्षण, परामर्श र व्यवस्थापन
भक्तपुर, २१ फागुन २०७९:
बागमती प्रदेश सरकार मातहत संचालित भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शुरु भएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोग पहिचानका लागि निशुल्क परीक्षण, परामर्श र व्यवस्थापन सम्बन्धी सेवा शुरु भएको हो ।
आइतवार बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले भक्तपुर अस्पतालमा नसर्ने रोग पहिचानका लागि मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा सरिक हुन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार एवं भक्तपुरका युवा नेता डिपी ढकाल र प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख चन्देश्वर श्रेष्ठ समेत आएका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरु किरण थापामगर, सुरेश श्रेष्ठ, डा राजेन्द्रमान श्रेष्ठ, सकुन्तला श्रेष्ठ राजभन्डारी, देवेन्द्र श्रेष्ठ दिवाकर, भुवन केशरी श्रेष्ठ र धनेश्वरी प्रजापति, त्यसैगरी भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति, भक्तपुर जिल्ला प्रमुख खगेन्द्रप्रसाद रिजाल, शसस्त्र प्रहरी बलका डिएसपी यदु कार्की र वडाध्यक्ष श्याम कृष्ण खत्री लगायतको सहभागिता रहेको थियो ।
उक्त अवसरमा प्रदेश सरकारका स्वास्थ्य मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले स्वास्थ्य नीति बनाएर सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन लागिपरेको जानकारी गराएका छन् । स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन प्रदेश सरकारले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको नीति अगाडि सारेको उनले प्रष्ट पारे ।
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रदेशबासीको स्वास्थ्य सेवाको लागि महत्वपूर्ण कार्यक्रम रहेको भन्दै मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले उपचार नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य गरेको दावी गरे ।
प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा रु ४ अर्ब ९८ करोड २३ लाख रुपैया खर्च गर्ने लक्ष्य लिएको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डि पी ढकालले जानकारी दिए। नेता ढकालले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तरगत बिपन्न नागरिकलाई उपचार गर्न सहयोग पुर्याउने उद्देश्य सहित रु १२ करोड ५० लाख र निशुल्क दिइने औषधी र उपकरण खरिद्का लागि १६ करोड १७ लाख बिनियोजन गरिएको जानकारी दिनु भयो। नेता ढकालले भक्तपुर अस्पताल सुबिधा सम्पन्न बनाउने योजनाहरु बनाउन आग्रह गर्दै त्यसका लागि बजेटको कमी हुन नदिने प्रतिवद्धता पनि प्रकट गरे । भक्तपुरको स्वास्थ्य सेवाको अवस्थालाई थप सुद्रिद गर्न अस्पतालहरुलाई स्वास्थ्य बिज्ञान प्रतिस्ठान बनाएर अघि बढ्नुपर्ने आवश्यकता समेत उनले औल्याएका छन् ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सामुदायिक अस्पतालहरु जनताको अस्पतालको रुपमा सञ्चालित हुनुपर्नेमा जोड दिँदै नेपालले क्युवा बाट सिक्नुपर्ने बताए । आफ्नो नगरपालिकालाई डाक्टर उत्पादन गर्न नदिएपनि नर्स उत्पादन गरी घरघरमा नर्सिङ्ग सेवा पुर्याइरहेको उनको भनाइ छ । सफल नेतृत्वले संस्थालाई सफलतातिर डोर्याउने कुराको ज्वलन्त उदाहरणको रुपमा भक्तपुर अस्पताल स्थापित भएको उदाहरण दिदै उनले भौतिक संरचनाले मात्र नभई दक्ष जनशक्ति र दृढ इच्छाशक्तिले सफलता प्राप्त हुने प्रष्ट पारे । उनले भक्तपुर अस्पताललाई अझ उचाइमा पुर्याउन आवश्यक सहयोग गर्ने आश्वासन समेत दिएका छन् ।
भक्तपुर अस्पतालकी प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले क्यान्सर, मुटु,कलेजो, मृगौला लगायत नसर्ने रोगको जोखिमबाट मानिसलाई बचाउन मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम लाभदायक हुने दावी गरेकी छन् । यसमा सहभागी हुन नसर्ने रोग लागेको यकिन नभएका ३० वर्षका प्रदेश भित्र बसोबास गर्ने प्रदेशाबासी हुनुपर्ने उनले बताइन । वडा वा स्वास्थ्य कार्यालयको सिफारिसका आधारमा अथवा आफू बिपन्न भएको स्वघोषणा गरी अस्पातल आएका प्रदेशाबासी नागरिकलाई निशुल्क सेवा उपलब्ध गराउने उनले जनाएकी छन् । डा गौतमले क्यान्सर, मुटु, मृगौला,स्नायु लगायत नसर्ने रोग लागेको पाइएमा थप उपचारका लागि भक्तपुर अस्पतालको सिफारिसमा बागमती प्रदेश सरकारले आर्थिक सहायता स्वरुप १ लाख रुपैया सम्म उपलब्ध गराउने जानकारी गराएकी छन् ।
उद्घाटन समारोह कार्यक्रमका सभापति एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायष्ठले अस्पतालको बिकासबाहेक आफ्नो कुनै निजी स्वार्थ नरहेकोले अस्पताल परिवारलाई एकताबद्ध गरी थप बिकासको उचाइमा पुर्याउने प्रतिवद्धता प्रकट गरे । अस्पताल सबैको साझा सम्पति भएकाले तीनै तहका सरकारका साथै स्थानीय जनसमुदायको आवश्यक सहयोग र प्रेरणा प्राप्त हुने उनले बिश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा अस्पतालको बारेमा निष्पक्ष समाचारमार्फत सहयोग र खबरदारी गर्दै अस्पतालको बिकासमा सहयोग पुर्याएको भन्दै ५ पत्रकारलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव समेत रहेका भक्तपुर पोस्टका सम्पादक संजीप घिमिरे, राससकर्मी रमेश गिरी, नेपाल समाचार पत्रका सम्वाददाता पुष्करराज बुढाथोकी,मजदुर दैनिकका सम्पादक प्रकाश श्रेष्ठ र कैलाश खबरका सम्पादक बिनोद बिक रहेका छन।
त्यसअवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतम, अस्पतालका पूर्व अध्यक्ष मिलन सुवाल, डा सुनिल ढुङ्गेल, डा. मधु पाण्डे, डा. निर्मल श्रेष्ठ, डा. देवेन्द्र भट्टराई, डा. रन्जिस पहाडी, डा कविता मानन्धर, डा. मञ्जु बज्राचार्य, डा. सुरज धौभडेल, अभिनास कायस्थ, नर्सिङ्ग व.अधिकृत रोशनी श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
त्यस्तै स्वास्थ्यकर्मी एवं कर्मचारीहरु कविता प्रधान, कृष्णप्रसाद आचार्य, हरिप्रसाद कोजू, ममता थापा, प्रियंका कुमारी भगत, कल्पना कायस्थ, रेसु कार्की, न्हुच्छे लघु, सुनिता न्यौपाने, सुनिता श्रेष्ठ, तारा रिजाल, प्रतिभा भुसाल, बुद्धिबहार महर्जन, सन्तमाया श्रेष्ठ, राजु माक तथा आरएनए ग्रुपका अरुण सैजू र राजेश गाइजूलाई पनि सम्मान गरिएको थियो ।
