“एआई पत्रकारका लागि खतरा होइन, अवसर हो” प्रशिक्षक समिर बलामी
मध्यपुर थिमि, २४ जेठ २०८२ः
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको आयोजनामा ‘पत्रकारितामा कृत्रिम बुद्धिमत्ताको प्रयोग’ सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न भएको छ।
प्रशिक्षणमा करिब ६० जना पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको प्रमुख प्रशिक्षक फोनिज संघीय महासचिव तथा सञ्चार विज्ञ समिर बलामी थिए।
प्रशिक्षणमा समाचार लेखन, सामग्री निर्माण, तथ्य जाँच (fact-checking), रिसर्च, भिडियो सम्पादनलगायतका क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको (AI) व्यावहारिक उपयोगबारे जानकारी दिइएको थियो।
प्रशिक्षक बलामीले भने: “एआई पत्रकारका लागि खतरा होइन, अवसर हो। प्रविधिसँग सहकार्य गरेर हामीले पत्रकारिताको गुणस्तर अझै उकास्न सक्छौं।” उनले थपे: “तर प्रविधिको प्रयोगसँगै नैतिकता, स्रोतको प्रमाणिकता र विवेक पनि उत्तिकै महत्वपूर्ण हुन्छ।”
फोनिज बागमती प्रदेश अध्यक्ष युबराज श्रेष्ठले कार्यक्रम समापनमा सहभागीहरूलाई धन्यवाद दिँदै भने: “हामीले सदस्यहरूलाई नयाँ प्रविधिमा सशक्त बनाउने लक्ष्यसहित तालिम आयोजना गरेका हौं। यस्ता कार्यक्रमलाई अब निरन्तर बनाइनेछ।”
सहभागी पत्रकारहरूले तालिम अत्यन्त उपयोगी भएको प्रतिक्रिया जनाएका छन्।
