चितवनमा चालक सहचालकका लागि ट्राफिक सचेतना र गाडीमा जी.पि.एस. जडान कार्यक्रम सम्पन्न

चितवन, २७ जेठ २०८२:

शिब बराल

नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघको आयोजनामा पोल्ट्रीजन्य वस्तु ओसारपसार गर्ने सवारी साधानका चालक र सहचालकका लागि ट्राफिक सचेतना र गाडीमा जी.पि.एस. जडान सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। संघका अध्यक्ष महेश्वर पोखरेलको सभापतित्व र नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टको प्रमुख आतिथ्यतामा आयोजित यस कार्यक्रमको उद्घाटन नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले जी.पि.एस. ट्रयाक हस्तान्तरण गर्दै गरे।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा भरतपुर महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष मनोज रानाभाटले शुभकामना व्यक्त गर्दै संघका गतिविधिहरूका बारेमा प्रकाश पार्नुभएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरीक्षक भुपेन्द्र बहादुर विष्टले ट्राफिक नीति र नियमका बारेमा प्रशिक्षण दिनुभएको थियो। चितवन उद्योग संघका उपाध्यक्ष तारावहादुर कार्कीले ट्राफिक सचेतना र चालक तथा सहचालकले ध्यान दिनुपर्ने विषयमा चर्चा गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि रघुनाथ भट्टले सरकारी नीति नियम, व्यवसायीका समस्याहरू, र चालक-सहचालकको दैनिक समस्याबारे चर्चा गर्दै यस प्रकारका कार्यक्रममा सहजीकरण र समन्वयको महत्त्व राख्नुभएको थियो। नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालद्वारा सञ्चालित यस कार्यक्रममा संघका महासचिव तुलसीप्रसाद सुवेदीले धन्यवाद ज्ञापन गर्दै सभा बिसर्जन गर्नुभएको थियो।

यस कार्यक्रममा ८५ जनाको सहभागिता रहेको थियो र संघमा आवद्ध सदस्यहरूको २० वटा गाडीमा जी.पि.एस. जडान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!