मध्यपुर थिमि, २६ जेठ २०८२ः
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार तथा मध्यपुर थिमिका अभिभावक नेता क. कृष्णलाल गोजा श्रेष्ठको आज बिहान आफ्नै निवासमा असामयिक निधन भएको छ। उहाँको निधनले माओवादी आन्दोलनसहित सम्पूर्ण नेपाली वाम आन्दोलनमा अपूरणीय क्षति पुगेको छ।
क्रान्तिनिष्ठा, निरन्तरता, सरलता, स्वच्छता र मिलनसारिताका प्रतिक नेता श्रेष्ठ लामो समयदेखि पार्टी निर्माण, जनसम्बन्ध सुदृढीकरण र सैद्धान्तिक मार्गदर्शनमा क्रियाशील रहनुभएको थियो। उहाँको जीवनशैली र नेतृत्व क्षमताले पार्टी कार्यकर्तामाझ गहिरो सम्मान स्थापित गरेको थियो।
आजै दक्षिणबाराहीमा उहाँको अन्त्येष्टि सम्पन्न गरिएको हो। अन्तिम श्रद्धाञ्जली स्वरूप नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, केन्द्रीय सदस्यहरू शशी श्रेष्ठ, लिलामणी पोखरेल, दिलिप कुमार प्रजापति ‘भिष्म’, प्रतिमा श्रेष्ठ, डीपी ढकाल, देवेन्द्र श्रेष्ठ, रामप्रसाद सापकोटा ‘दिपशिखा’, मध्यपुर नगर अध्यक्ष विजय श्रेष्ठलगायत नेताहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।
श्रेष्ठको पार्थिव शरीरमा बिराट नेपालभाषा गुथिको झण्डा समेत ओढाइएको थियो, जसले उहाँको विविध सामाजिक प्रतिबद्धतालाई झल्काउँछ।
भक्तपुर जिल्लामा माओवादी आन्दोलनको बीजारोपणदेखि संस्थागत विकाससम्मको यात्रामा कृष्णलाल गोजा श्रेष्ठले खेलेको भूमिकालाई विश्लेषकहरू इतिहासकै महत्वपूर्ण योगदानका रूपमा चित्रित गर्छन्। उहाँको निधनसँगै भक्तपुर माओवादी आन्दोलनको एक युगको समाप्ति भएको पार्टी कार्यकर्ताहरूले बताएका छन्।
नेकपा (माओवादी केन्द्र) भक्तपुरका जिल्ला इन्चार्ज दिलिप कुमार प्रजापति ‘भिष्म’ ले नेता श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँको योगदान युगौंसम्म सम्झिइने बताएका छन्।