‘लम्पी स्किन’ को जोखिम पुनः बढ्दो: सतर्कता अपनाउन पशु सेवा विभागको आग्रह

काठमाडौँ, २६ जेठ २०८२ः

दुई वर्षअघि महामारीको रूपमा देखा परेको ‘लम्पी स्किन’ रोगको सङ्क्रमण फेरि फैलिन थालेपछि पशुसेवा विभागले सतर्क रहन प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ।

अघिल्लो वर्ष तुलनात्मक रूपमा कम देखिएको यो रोग यो वर्ष पुनः देखा पर्न थालेको छ। विशेष गरी वर्षाको समयमा लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट सर्ने भएकाले विभागले खोप र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको हो।

पशुसेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीका अनुसार खरिद गरिएको १४ लाख ६० हजार डोजमध्ये १० लाख डोज खोप सातवटै प्रदेशमा पठाइएको छ भने बाँकी चार लाख डोज केन्द्रमै राखिएको छ।

विभागमा कार्यरत डा. नवराज श्रेष्ठका अनुसार खोप प्रदेशका मागअनुसार जिल्लामा वितरण गरिएको छ र स्थानीय तहका पशु स्वास्थ्यकर्मीले किसानको घरघरमा पुगेर खोप लगाउने काम भइरहेको छ।

‘लम्पी स्किन’ को लक्षण र सावधानी
पशु चिकित्सक मणिप्रसाद दाहालका अनुसार, गाईभैंसीको छालामा एकदेखि पाँच सेन्टिमिटरका गोलो गाँठा देखिनु, मुख र नाकमा घाउ आउनु, आँखाबाट अत्यधिक रस बहन हुनुजस्ता लक्षण देखिएमा तुरुन्तै प्राविधिक बोलाउनुपर्ने हुन्छ। सङ्क्रमित पशुबाट दूध उत्पादनमा तीव्र गिरावट आउने, उच्च ज्वरो देखिने, तौल घट्ने र चरम अवस्थामा मृत्युसम्म हुन सक्ने जनाइएको छ। विशेषगरी श्रममा खटिने गोरु, भर्खर जन्मेका बाच्छाबाच्छी, गर्भवती र ब्याएका गाईभैंसीमा रोगको प्रभाव बढी देखिने उल्लेख गरिएको छ। सङ्क्रमण रोक्न पशुको ओसारपसार रोक्नु, सामुदायिक चरन क्षेत्र प्रयोग नगर्नु, साझा पानी खाने स्थानमा पुग्न नदिनु र एउटै सुई प्रयोग नगर्नु अत्यावश्यक रहेको विज्ञहरूले बताएका छन्।

खोपले जोखिम घटाउँछ, सावधानी अनिवार्य
पशु प्राविधिक उद्धवप्रसाद सापकोटाले रोगको संक्रमण देखिन थालेको जानकारी दिँदै सरकारले अब ढिलाइ नगरी पूर्वतयारी तथा रोकथाममा विशेष योजना ल्याउनुपर्ने बताए। उनले भने, “स्वस्थ पशुमा समयमै खोप लगाएमा जोखिम कम हुन्छ, किसानले तत्कालै प्राविधिकसँग सम्पर्क गर्नु आवश्यक छ।”

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले विगतमा ‘लम्पी स्किन’ का कारण भएको ठूलो आर्थिक क्षति दोहोरिन नदिन सरकारी तथा निजी क्षेत्रको समन्वयमा विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्।

२०७७ सालमा पहिलोपटक देखिएको संक्रमण
नेपालमा सन् २०७७ साल असारमा मोरङको सुन्दरहरैँचामा पहिलोपटक ‘लम्पी स्किन’ देखिएको थियो। पशु चिकित्सा परिषद्को एक अध्ययन अनुसार, एउटा स्वस्थ पशुमा ‘लम्पी स्किन’ लाग्दा औसत ४९ हजार १३५ रुपैयाँ बराबरको क्षति हुने देखिएको छ। दुई वर्षअघि ७७ जिल्लाका १५ लाखभन्दा बढी पशुमा यो रोग देखिई ७४ अर्ब ६७ करोड रुपैयाँ बराबरको क्षति भएको थियो।

नेपालमा हाल करिब ३१ लाख गाई र ४७ लाख भैंसी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!