काठमाडौँ, २८ जेठ २०८२ः
आफूलाई डिएसपी (उपरीक्षक) भन्दै ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार प्रहरी हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गर्ने गिरोहका दुई सदस्यलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा काभ्रेपलान्चोक, चौँरी देउराली गाउँपालिका–८ का ४५ वर्षीय ज्ञानबहादुर लामा (उर्फ ज्ञानु तामाङ) र सुनसरी, इटहरी उपमहानगरपालिका–४, पाँचघरे स्थायी घर भई हाल काठमाडौँ, कलङ्की बसोबास गर्दै आएका ४२ वर्षीय रेवती ओझा रहेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार लामाले आफूलाई डिएसपी भनेर चिनाउँदै हिरासतमा रहेका व्यक्तिको मुद्दा छुटाइदिने प्रलोभनमा पारेर ठगी गरेका थिए। लामामाथि २०७० साल फागुन २० गते हातहतियार खरखजाना सम्बन्धी कसुरमा पाँच वर्ष कैद सजाय भुक्तान गरेको विवरण समेत प्रहरीले सार्वजनिक गरेको छ।
यसैगरी, रेवती ओझामाथि २०६७ साल कात्तिक ४ गते सार्वजनिक अपराध अन्तर्गत जुवा सम्बन्धी कसुरमा काठमाडौँको टेकुस्थित प्रहरी परिसरबाट मुद्दा दर्ता भएको थियो।
प्रहरीका अनुसार दुबै जनामाथि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान अगाडि बढाइएको छ।