सूर्यविनायक, भक्तपुर, ३० जेठ २०८२ —
भक्तपुरको सूर्यविनायक नगरपालिका जिल्लाकै पहिलो “पूर्ण खोप सुनिश्चित नगरपालिका” घोषित भएको छ। जिल्लाका चार वटा नगरपालिकामध्ये सूर्यविनायकले सबैभन्दा पहिला यो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो।

शुक्रबार नगरपालिका स्वास्थ्य शाखाद्वारा आयोजित एक विशेष कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले सबै स्वास्थ्यकर्मीहरुलाई शपथ ग्रहण गराउँदै पूर्ण खोप सुनिश्चितता तथा यसको दीगोपनाको घोषणा गरे। कार्यक्रममा नगर क्षेत्रभित्र रहेका सबै वडाहरुमा खोप नलगाएका बालबालिकाको संख्या शून्य रहेको पुष्टि गरियो, जसलाई निरीक्षण तथा अनुगमनपछि औपचारिक रूपमा घोषणा गरिएको हो।

कार्यक्रममा नगर प्रमुख थापाले स्वास्थ्यकर्मीहरुको समर्पण र सामूहिक प्रयासप्रति आभार व्यक्त गर्दै भने, “यो उपलब्धि हामी सबैको साझा मेहनतको परिणाम हो।” उनले कार्यक्रममा सहभागी स्वास्थ्य चौकी प्रमुखहरुलाई प्रमाणपत्र वितरण गर्दै सम्मानित पनि गरे।

नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले नगरपालिका जनताको जन्मदेखि मृत्युसम्मका सेवामा क्रियाशील रहेको बताए। “जन्मपश्चात खोपदेखि लिएर मृत्यु पछिको शववाहन व्यवस्थासम्म नगरपालिकाले जिम्मा लिएको छ,” उनले भने।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले जिल्लाका बाँकी तीन नगरपालिकामा पनि खोप सुनिश्चितताको प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै आगामी दिनमा भक्तपुर जिल्लालाई बागमती प्रदेशकै पहिलो “पूर्ण खोप सुनिश्चित जिल्ला” घोषणा गरिने विश्वास व्यक्त गरिन्।
उक्त कार्यक्रममा वडा नं. १ देखि १० सम्मका वडा अध्यक्षहरु, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो।
सूर्यविनायक नगरपालिकाको यो सफलताको उदाहरणले स्वास्थ्य क्षेत्रमा स्थानीय तहको प्रभावकारी भूमिका देखाएको छ।