औषधिको मूल्य निर्धारण सम्बन्धी समितिको प्रतिवेदनप्रति औषधी व्यवसायी संघको आपत्तिः भद्र सांकेतिक विरोधको घोषणा

काठमाडौँ, २९ जेठ २०८२:

नेपाल औषधी व्यवसायी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत गठन गरिएको “औषधिको मूल्य-नीति सिफारिस समिति” को प्रतिवेदनप्रति गम्भीर आपत्ति जनाउँदै औषधि व्यवसायीको गरिमा र अस्तित्वमाथि प्रहार भएको बताएको छ।

संघका अनुसार मन्त्रालयले ९ महिना अघि डा. पोषराज पाण्डेको संयोजकत्वमा औषधिको मूल्य नियन्त्रणसम्बन्धी उद्देश्यसहित गठन गरेको समितिले औषधि व्यवसायीसँग समन्वय नगरी र दशकौ देखि औषधि वितरणमा क्रियाशील व्यवसायीहरूको भूमिकालाई उपेक्षा गर्दै प्रतिवेदन बुझाएको हो। संघले समितिको प्रतिवेदनले औषधि व्यवसायीलाई “भरिया” सरहको संज्ञा दिँदा आफूहरू गम्भीर रूपमा मर्माहत भएको जनाएको छ।

नेपाल औषधी व्यवसायी संघले औषधि ऐन २०३५ अन्तर्गतको “औषधि परामर्श परिषद्” को निर्णयअनुसार २०७५ सालमा तयार गरिएको “औषधि मूल्य निर्धारणसम्बन्धी कार्यविधि” लाई लत्याउँदै ल्याइएको पछिल्लो प्रतिवेदनको उद्देश्य जनस्वास्थ्यभन्दा पनि प्रचारमुखी देखिएको आरोप लगाएको छ।

संघका काठमाडौ जिल्ला शाखाका महासचिब शुभमान श्रेष्ठका अनुसार हाल नेपालमा अत्यावश्यक औषधिको ५२ प्रतिशत आपूर्ति निजी क्षेत्रबाट आयातमार्फत भइरहेको छ, र यस्तो अवस्थामा व्यवसायीको भूमिका अवमूल्यन गर्नु राष्ट्रहित विपरीत कार्य हो।

संघको केन्द्रिय कार्यसमितिको निर्णयअनुसार प्रतिवेदनको विरोधमा भोली २०८२ जेठ ३० गते, बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म औषधि व्यवस्था विभागको मूलद्वारमा भद्र सांकेतिक विरोध कार्यक्रम आयोजना गरिएको छ।

संघले देशभरका औषधि व्यवसायीहरूलाई एकजुट भई विरोध कार्यक्रममा सहभागिता जनाउन आह्वान गर्दै “संघ बलियो, व्यवसाय सुरक्षित – एकजुट भइ आवाज उठाऔं” भन्ने नारासहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!