काठमाडौं, ३० जेठ २०८२ः
औषधि व्यवस्था विभागले नमुना परीक्षणमा गुणस्तर नपुगेको भन्दै AGLOCEF IG औषधि तुरुन्त बजारबाट फिर्ता (Recall) गर्न आदेश दिएको छ। विभागद्वारा प्रकाशित सूचनाका अनुसार AGLOCEF IG (Ceftriaxone Injection IP) औषधिको ब्याच नं. N192403 ले Sterility Test मा असफल भएको पुष्टि भएपछि यस्तो आदेश दिएको हो।
उक्त औषधिको नमुना बजार अनुगमनको क्रममा संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गरिएको थियो। परीक्षण गुणस्तरहिन देखिए पछि औषधि ऐन, २०३५ को दफा १४ अनुसार बिक्रि तथा वितरण रोक्का गरिएको हो।
AGLOCEF IG औषधि Aglowmed Ltd, Mumbai, India द्वारा उत्पादित हो भने नेपालमा यसलाई Shubalabh Pharmalink, बिरगंज-४, पर्सा ले आयात गरेको हो। ्सो ब्याचको उत्पादन मिति २०२४ मे र म्याद सकिने मिति २०२६ अक्टोबर रहेको छ।
औषधि व्यवस्था विभागले औषधि उद्योग, आयातकर्ता, वितरक तथा सबै सरोकारवालालाई यस औषधिको बिक्रि, वितरण तथा प्रयोग नगर्न र नगराउन अनुरोध गरेको छ। साथै सम्बन्धित औषधि तुरुन्त बजारबाट फिर्ता गरी त्यसको विवरण विभागमा पेश गर्न समेत सूचनामार्फत निर्देशन दिइएको छ।
