मातृभाषा बलियो भए राष्ट्र बलियो हुन्छ : सभामुख घिमिरे

ललितपुर, ३० जेठ २०८२ः

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लोपोन्मुख भाषाको संरक्षण संवर्धनमा राज्य संवेदनशील हुनुपर्ने बताउँदै मातृभाषा बलियो भए राष्ट्र बलियो हुने बताउनु भएको छ । नेवा पत्रकार राष्ट्रिय दबुले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उहाँले मातृभाषा संरक्षणका लागि राज्यले आवश्यक नीति बनाउनुपर्ने बताउनुभयो ।

नेपालको पछिल्लो जनगणना अनुसार १२४ भन्दा बढी भाषा रहेको र तीमध्ये ६२ भाषा प्रचारमा बढी आएको प्रसङ्ग उल्लेख गर्दै सभामुख घिमिरेले मातृभाषा पत्रकारितालाई अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । देशका विभिन्न मातृभाषाको संरक्षण, संवर्धन एवं प्रचारप्रसारमा गोरखापत्र, राष्ट्रिय समाचार समिति र सार्वजनिक प्रसारण संस्थाले काम गर्दै आएकोमा उहाँले प्रशंसा गर्नुभयो ।

पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यले मातृभाषामा पत्रकारिता आरम्भ गर्नुभएको १०१ औँ वार्षिकीको स्मरणको दिनमा गरिएको सम्मेलनले विशेष महत्व बोकेको बताउँदै सभामुख घिमिरेले मातृभाषा पत्रकारिताको जग बसाउने कार्य धर्माचार्यले गर्नुभएको उल्लेख गर्नुभयो । मातृभाषा पत्रकारितामा विशेष योगदान गरेबापत सभामुख घिमिरेले गोरखापत्र दैनिकलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा संस्थागत रूपमा नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र प्रेस काउन्सिल नेपाललाई सम्मान गरिएको थियो ।

यसैगरी, मातृभाषा पत्रकारितामा संलग्न अजितमान तामाङ र गणेश राईलाई सम्मान गरिएको थियो । नेवा पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. महेन्द्र विष्ट, दबुका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!