ब्लोदान भक्तपुरद्वारा राम चन्द्र प्रजापति लगायत समाजसेवीहरू सम्मानित

भक्तपुर, ३० जेठ २०८२ः

विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स एसोसिएशन नेपाल (ब्लोदान) भक्तपुर शाखाले ‘रगत, रक्तदाता संस्था र प्रयोगकर्ताको अन्तरसम्बन्ध’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा रक्तदानको महत्त्व, रगतको आवश्यकता र सामाजिक उत्तरदायित्वबारे गहन छलफल गरिनुका साथै रक्तदानमा योगदान पु-याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

भक्तपुर उद्योग वाणिज्य संघको सभाहलमा ब्लोदान भक्तपुरकी अध्यक्ष निर्मला सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनी धौबन्जारले बाल्यकालमा सियो र खोपसँग डर लाग्ने अनुभव साझा गर्दै भने, “मैले उद्योग वाणिज्य संघको सदस्य रहँदा आयोजित कार्यक्रममा पहिलो पटक रक्तदान गरेको थिएँ। आफूले दिएको रगत अरूलाई जीवनदान दिन सक्छ, त्यसैले सबैलाई रक्तदानमा सहभागी हुन आग्रह गर्दछु।”

नेपाल रेडक्रस सोसाइटीका कर्मचारी सन्देश थापाले रक्तदानका प्राविधिक पक्षबारे करिब ४५ मिनेट लामो प्रस्तुति दिएका थिए। उनले भने, “नेपालमा हाल जम्मा ०.८ प्रतिशत जनसंख्याले मात्रै रक्तदान गरिरहेका छन्। यो संख्या २ प्रतिशतमा पुर्‍याउन सके देशभर रक्त आपूर्तिमा सहजता आउनेछ।”

नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा भक्तपुरका अध्यक्ष परशुराम पाण्डेले रेडक्रसले गरिरहेको सामाजिक कार्यका विविध पाटा उजागर गर्दै रक्त व्यवस्थापनलाई पवित्र कार्यको रूपमा परिभाषित गरे।

कार्यक्रममा ब्लोदान केन्द्रीय उपाध्यक्ष उज्ज्वल केसी, ब्लोदान भक्तपुरका सचिव सोहन रञ्जित, कृष्ण प्रसाद अवाल, लगायत वक्ताहरूले रगतको विकल्प नै नभएको उल्लेख गर्दै सबैलाई रक्तदानप्रति उत्प्रेरित हुने आह्वान गरे।

अन्त्यमा, प्रमुख अतिथि रोशनी धौबन्जारले रक्तदान र सामाजिक सेवामा योगदान पु-याउने व्यक्तित्वहरू ब्लोदान भक्तपुरका पूर्व कार्यबाहक अध्यक्ष राम चन्द्र प्रजापति, नेरेसो जिल्ला शाखा भक्तपुरका पूर्व सभापति कृष्ण प्रसाद अवाल, राजुराम मुनकर्मी, नारायणबहादुर बासुकलालाई सम्मान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!