२१औं विश्व रक्तदाता दिवस: भक्तपुरमा १८७ जना रक्तदातालाई सम्मान, ‘रगत नपाए भक्तपुर जानू’ नारालाई चरितार्थ गर्दै रेडक्रसको सक्रियता

भक्तपुर, ३१ जेठ २०८२ः

२१औं विश्व रक्तदाता दिवस भक्तपुरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइएको छ। दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले विभिन्न संघसंस्था र व्यक्तिका तर्फबाट कुल १८७ जना नियमित रक्तदाताहरुलाई प्रमाणपत्रसहित सम्मान गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य माननीय दुर्लभ थापाले कार्यक्रमको उद्घाटन गर्नुहुँदै, “रगत नपाए भक्तपुर जानू” भन्ने नारालाई सार्थक बनाउँदै भक्तपुर रेडक्रसले रक्त संचार सेवा सञ्चालन गरेर समाजसेवामा अग्रणी भूमिका निभाइरहेको बताउनुभयो। उहाँका अनुसार भक्तपुर शाखाको सेवा आज देशभर फैलिइसकेको छ।

त्यस्तै, भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले रगतको सही सदुपयोग गर्न आग्रह गर्दै, रक्त संकलनमा लाग्ने खर्च संघीय सरकारले व्यहोर्नुपर्ने र बिरामीले सहज रूपमा रगत प्राप्त गर्ने व्यवस्था हुनु आवश्यक रहेको धारणा राख्नुभयो।

रेडक्रस भक्तपुर शाखाका सभापति पर्शुराम पाण्डेका अनुसार, भक्तपुर रक्त संचार केन्द्रबाट बार्षिक २५ हजार युनिटभन्दा बढी रगत संकलन हुने गर्दछ। उहाँले होल ब्लड, प्यासिल (Platelets), र फ्रेस ब्लड गरेर वार्षिक करिब ४५ हजार युनिट रगत वितरण हुने गरेको जानकारी दिनुभयो।

त्यस्तै, महामन्त्री धर्मराज कार्कीले रक्त संचार केन्द्रले २४ घण्टा सेवा उपलब्ध गराउँदै आएको बताउँदै, दुर्लभ रक्त समूहका आकस्मिक रक्तदाताहरूको सूची बनाई रगतको सहज आपूर्ति सुनिश्चित गरिँदै आएको जानकारी दिनुभयो।

यस वर्षको दिवस भक्तपुरमा रक्तदानको महत्त्व, नियमित रक्तदाताको योगदान र आकस्मिक रक्त आवश्यकतामा रेडक्रसको सक्रिय भूमिका झल्काउने गरी सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!