मध्यपुर थिमि, ३१, जेठ २०८२:
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार तथा भक्तपुरका आदरणीय अग्रज नेता कृष्णलाल गोजा श्रेष्ठको निधनप्रति पार्टीका नेताहरुले गहिरो शोक व्यक्त गरेका छन्।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ सहित सचिव लिलामणि पोख्रेल, स्थायी समिति सदस्य शशि श्रेष्ठ लगायतका नेताहरू दिवंगत श्रेष्ठको निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।

उपमहासचिव पुनले पार्टीका तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै भने, “कृतिशेष कृष्णलाल गोजा श्रेष्ठको निधनले हाम्रो पार्टी, भक्तपुरको वामपन्थी आन्दोलन र सामाजिक अभियानमा अपूरणीय क्षति पुगेको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।”
श्रेष्ठको योगदानलाई स्मरण गर्दै नेताहरुले उहाँले देख्नुभएको समृद्ध समाजवादी नेपालको सपना साकार पार्न निरन्तर लागिरहने प्रतिबद्धता जनाएका थिए।
