काठमाडौं, ३१ जेठ २०८२ः
भारत सरकारले नेपालका ३३ जिल्लामा स्वास्थ्य सेवा सुदृढीकरणका लागि ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ। काठमाडौं, वीरगंज, पोखरा र धरानमा आयोजित समारोहमार्फत एम्बुलेन्स हस्तान्तरण गरिएको हो। २२ वटा एम्बुलेन्स काठमाडौंमा, ७–७ वटा वीरगंज र पोखरामा तथा ४ वटा धरानमा हस्तान्तरण गरिएको हो।
काठमाडौंमा आयोजित कार्यक्रममा भारतीय दूतावासका उप–प्रमुख प्रसन्न श्रीवास्तवले स्थानीय तहका प्रतिनिधिहरुलाई चाबी हस्तान्तरण गर्नुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा नेपाल सरकारसँगको सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो।
भारतले सन् १९९४ यता नेपाललाई १,०४९ एम्बुलेन्स, ३०० स्कुल बस, २०० निर्वाचन सवारी र १५ विद्युतीय गाडी उपहार दिइसकेको छ।