काठमाडौं, १ जेठ २०८२: केके मानन्धर
“मातृभाषा संरक्षणका लागि पत्रकारिता” भन्ने मूल नाराका साथ आयोजित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै काठमाडौं उपत्यकाको थिमीमा सम्पन्न भएको छ।
दुई दिने सम्मेलनमा नेपालसहित बंगलादेश र भारतबाट करिब ५० जना विदेशी पत्रकार तथा सयभन्दा बढी नेपाली पत्रकारहरूको सहभागिता रहेको थियो। सम्मेलनमा मातृभाषा पत्रकारिताको अभ्यास, नीति, चुनौती र अवसरबारे गहन छलफल गरियो। कार्यक्रम नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा सार्क पत्रकार मञ्च र फोनिजको सहकार्यमा सम्पन्न भएको हो।
बहुल समाजभित्रको एकतालाई सशक्त पार्ने माध्यम — सभामुख घिमिरे
सम्मेलनको उद्घाटन प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले गर्नुभएको थियो। उहाँले मातृभाषाको पत्रकारिता नेपालको संविधानद्वारा सुनिश्चित गरिएको बहुल समाजभित्रको एकतालाई व्यवहारमा कार्यान्वयन गर्न सहयोगी हुने बताउनुभयो। सरकारी सञ्चार माध्यममा मातृभाषी सामग्रीको विस्तार आवश्यक रहेको धारणा पनि उहाँले राख्नुभयो।
स्थानीय तहको प्रतिबद्धता — मेयर श्रेष्ठ
दोस्रो दिनको कार्यक्रम भक्तपुरको थिमी बैंक्वेटमा सम्पन्न भयो। सो अवसरमा मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मातृभाषा संरक्षणमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले विद्यालयस्तरमै मातृभाषा अध्यापनका लागि तयारी भइरहेको जानकारी दिनुभयो।
धर्मादित्य धर्माचार्यको योगदानको स्मरण
सम्मेलनका प्रमुख प्रेरणा स्रोत धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) लाई नेपालको प्रथम मातृभाषी पत्रकारका रूपमा स्मरण गरिएको छ। उहाँले १०१ वर्षअघि नेपाल भाषामा “बुद्ध धर्म वो नेपालभाषा” पत्रिका प्रकाशित गर्दै मातृभाषा पत्रकारिताको सूत्रपात गर्नुभएको थियो।
नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले सम्मेलनको आयोजना धर्माचार्यको योगदानको स्मरणस्वरूप गरिएको जानकारी दिनुभयो।
सात बुँदे काठमाडौँ घोषणापत्र जारी
सम्मेलनको समापनमा सात बुँदे “काठमाडौँ घोषणापत्र” जारी गरिएको छ। घोषणापत्रमार्फत मातृभाषा पत्रकारिता प्रवर्द्धन गर्न सार्क राष्ट्रका सरकारहरूलाई निम्न बुँदाहरू कार्यान्वयन गर्न आग्रह गरिएको छः
१. धर्मादित्य धर्माचार्यलाई नेपाल सरकारले विधिवत् सम्मान प्रदान गर्नुपर्छ।
२. मातृभाषा पत्रकारिताका लागि नीतिगत व्यवस्था गर्दै सरकारी बजेट विनियोजन गरिनुपर्छ।
३. आदिवासी भाषामा सञ्चालित सञ्चारमाध्यमलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्छ।
४. मातृभाषामा कार्यरत पत्रकारहरूका लागि नियमित तालिम र फेलोशिप कार्यक्रम सञ्चालन गरिनुपर्छ।
५. अन्तर्राष्ट्रिय संस्थाहरूले मातृभाषा पत्रकारिता प्राथमिकतामा राख्नुपर्छ।
६. डिजिटल युगमा मातृभाषा पत्रकारिता प्रवर्द्धन गर्न प्रविधि विकासमा लगानी गरिनुपर्छ।
७. मातृभाषा पत्रकारिता प्रवर्द्धनमा क्रियाशील पत्रकार संगठनहरूलाई मान्यता र आर्थिक सहयोग गरिनुपर्छ।
कार्यपत्र, छलफल र सम्मान
सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरियो। गोरखापत्रका पूर्व प्रधान सम्पादक पुष्करभक्त माथेमाले सरकारी सञ्चारमाध्यममा मातृभाषा पत्रकारिताको अभ्यासबारे कार्यपत्र प्रस्तुत गर्नुभयो।
छलफलका प्रमुख एजेन्डाहरूमा मातृभाषा पत्रकारिता अभ्यास, सरकारी सञ्चार माध्यममा यसको उपस्थिति, धर्मादित्य धर्माचार्यदेखि अहिलेसम्मको यात्रा, संस्थागत भूमिका, बजार प्रणाली र बहुल समाज विकासमा यसको योगदान समावेश थिए।
सम्मान वितरण
सम्मेलनमा मल्ल के. सुन्दर, गणेश राई, र अजितमान तामाङलाई ‘धर्मादित्य मातृभाषा पत्रकारिता सम्मान’ प्रदान गरिएको थियो। साथै, रेडियो नेपाल, गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन र प्रेस काउन्सिल नेपाललाई संस्थागत सम्मान प्रदान गरिएको थियो।
समापनमा सहभागी पत्रकार, विज्ञ र सरोकारवालाहरूले मातृभाषा पत्रकारितालाई लोकतान्त्रिक सहभागिता, सांस्कृतिक संरक्षण र सामाजिक न्यायको माध्यमका रूपमा बलियो बनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।