भक्तपुर, २७ फागुन २०७९ः
प्रेस सेन्टर नेपाल भक्तपुरले बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डि पी ढकालसंग साक्षात्कार कार्यक्रमको आयोजना गरेको छ।
उक्त साक्षात्कार कार्यक्रममा सल्लाहकार डि पी ढकालले संघीयता माथि प्रहार गर्दै प्रदेश सरकारले केही गरेन, प्रदेश खारेज गर्नुपर्छ भन्नेहरुलाई जवाफ दिनुपर्ने प्रष्ट पारे । बागमती प्रदेश सरकारको काम हेर्न भक्तपुर अस्पताल हेरे पुग्ने जिकिर गर्दै सल्लाहकार ढकालले संघ मातहत हुँदा हप्ताको ८० जना बिरामी जाच्ने अस्पताललाई अहिले दैनिक ८ सय बिरामी जाच्न सक्ने अवस्थामा पुर्याइएको जानकारी गराए । राजधानी संगै जोडिएको देशकै दोश्रो जेठो भक्तपुर अस्पतालमा आइसीयु आइपुग्न संघीयता नै आउनुपरेको प्रष्ट पार्दै उनले जनताको स्वास्थ्य र शिक्षामा प्रदेश सरकारले महत्वपूर्ण काम गरेको दावी गरे । प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी भएपनि प्रचार नभएको भन्दै उनले विद्यालयको भौतिक र शैक्षिक पूर्वाधारको बिकाशमा बागमती प्रदेश सरकारले ठुलो प्रगती गरेको जिकिर गरे ।
नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा भक्तपुर जिल्लाका प्रभाबशाली नेता समेत रहेका ढकालले कृषी र पर्यटनको बिकासको लागि ्प्रदेश सरकारले थुप्रै योजनाहरु ल्याएको जानकारी गरा उनु भयो। नेता ढकालले नागरिकलाई स्वरोजगार बनाउने तालिममा मात्र वार्षिक २० करोड लगानी गरेको तथ्यांक प्रस्तुत गर्नु भयो। स्थानीय तहलाई स्थानीय आवश्यकताको आधारमा अरवौं रुपैया अनुदान उपलब्ध गराउदै आएको उल्लेख गर्दै उनले प्रदेश सरकारले नमूना समाजवादी वडाको लागि २५ करोड उपलब्ध गराएको जानकारी गराए ।
उक्त अवसरमा नेता ढकालले भर्खरै प्रदेश सरकारले २० प्रतिसत खर्च कटौती गरेको जानकारी गराउदै प्रदेश सुशासनको लागि समिति नै बनाएर प्रतिबेदन तयार पारेको र त्यसलाई कार्यान्वयन गरिएको दावी गरे ।
कार्यक्रममा नेता ढकालले भक्तपुरको बिकासका योजनाहरु सुनाउदै भक्तपुर जोड्ने चक्रपथ नभएकोले प्रदेश सरकारले भक्तपुरको छुट्टै चक्रपथ बनाउन बजेट व्यवस्था गर्ने देखि खानेपानी र रोजगारको क्षेत्रमा योजना बनाउने बताए । प्रदेश सरकारले उत्पादनमा जोड दिने दावी गर्दै उनले उत्पादन संग जोडिने पेशा व्यवसायलाई संरक्षण र प्रवर्द्धन गरिने जिकिर गरे ।
कार्यक्रममा नेता ढकालले पत्रकारका प्रश्नको जवाफ दिदै संविधानको प्रस्तावनामै सशस्त्र युद्धमा शहिद भएकालाई सम्मान गरिएकोले जनयुद्धमा बिदा दिने सरकारको निर्णय सहि भएको बताए । उनले माओवादी जनयुद्धका एजेन्डा लागू भएकाले जनयुद्धको जीत भएको अवस्थाबारे बताउदै एजेन्डाले जित्ने र योद्धाले हार्ने स्थिति नहुने जिकिर गरे । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएर देश स्थायी शान्ति र दिगो बिकासमा केन्द्रीत हुनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा संक्रमणकालिन न्याय, शान्ति, सुशासन, बिकाशनिर्माण, कार्यक्रम र योजनामा रहेर पत्रकारहरुले राखेका बिबिध जिज्ञासाको नेता ढकालले जवाफ दिएका थिए ।
उक्त अवसरमा उनले नेपाल पत्रकार महासंघ भक्तपुरलाई भवन निर्माणमा सहयोग गर्ने आस्वासन दिनुका साथै पत्रकारका रचनात्मक सुझाव प्रदेश सरकारले लागू गर्ने पनि प्रतिवद्धता प्रकट गरे ।
