भक्तपुर, असार ८ गते
भक्तपुर नगरपालिकाको १८औँ नगरसभाको बैठक आइतबार सम्पन्न भएको छ। नगर प्रमुख श्री सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न बैठकमा उपप्रमुख श्रीमती रजनी जोशीले आर्थिक वर्ष २०८२/८३ को अनुमानित आय–व्यय बजेट प्रस्तुत गर्नुभयो।
उहाँले प्रस्तुत गर्नुभएको बजेट अनुसार भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा नगरपालिकाको जग्गा बिक्री समेत गरी जम्मा रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको छ।
उक्त बजेटमा चालू खर्चतर्फ रु. १ अर्ब ५२ करोड ५३ लाख ११ हजार (६१.६७ प्रतिशत), पुँजीगत खर्चतर्फ रु. ८० करोड ४८ लाख (३२.५४ प्रतिशत), र वित्तीय व्यवस्थातर्फ रु. १४ करोड ३० लाख (५.७८ प्रतिशत) विनियोजन गरिएको छ।
शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
शिक्षा क्षेत्रमा नगरवासीको अपेक्षा अनुरूप रु. ५४ करोड ४ लाख ६३ हजार (२१.८५ प्रतिशत) बजेट छुट्याइएको छ। ख्वप अस्पताललाई स्तरीकरण र आधुनिक सुविधा सम्पन्न बनाउन रु. ५ करोड, खँचापुखु स्वास्थ्य चौकी निर्माणका लागि रु. ७५ लाख, र स्वास्थ्य क्षेत्रका लागि कुल रु. १० करोड ३७ लाख ५० हजार विनियोजन गरिएको छ।
सम्पदा संरक्षण र पुनःनिर्माणमा विशेष जोड
मूर्त र अमूर्त सम्पदाको संरक्षण र विकासका लागि समेत ठूला बजेट छुट्याइएको छ। थन्थु दरबार पुनःनिर्माणमा रु. ३ करोड, लायकु पाहाँ छेँमा रु. ८५ लाख, इखालाछी मठ पुनःनिर्माणमा रु. १ करोड ६० लाख, इन्द्रायणी द्योछेँ पुनःनिर्माणमा रु. ३० लाख, सिद्धपोखरी पेटीमा रु. १ करोड, दही विनायक द्योछेँमा रु. ५० लाख, र इशानेश्वर मन्दिर निर्माणका लागि रु. ३० लाख विनियोजन गरिएको छ।
रात्रीकालिन बत्ती व्यवस्थापनका लागि रु. १ करोड र सम्पदा तथा संस्कृति संरक्षणका लागि कूल रु. १२ करोड ६८ लाख ५० हजार (५.१३ प्रतिशत) छुट्याइएको छ।
कृषि, पूर्वाधार र अन्य योजनाहरू
-
आधुनिक पशु वधशाला निर्माण: रु. २५ लाख
-
शीत भण्डार गृह निर्माण: रु. १ करोड
-
तरकारी बजार निर्माण सम्पन्न: रु. ३० लाख
-
खानेपानी वितरण: रु. ५० लाख
-
वातावरण तथा सरसफाइ: रु. २० करोड २२ लाख (८.१८ प्रतिशत)
-
पर्यटन प्रवर्द्धन: रु. ४ करोड ९० लाख (१.९८ प्रतिशत)
-
अरनिको सभाभवन निर्माण: रु. १४ करोड ९० लाख
-
देको मिवा इतापाके जग्गा एकीकरण: रु. ४ करोड
-
भार्वाचो बहुउद्देश्यीय भवन निर्माण: रु. १ करोड २५ लाख
-
पार्किङ व्यवस्थापन: रु. ६० लाख
खेलकुद, स्वास्थ्य सहायता र सीप विकास
-
खेलकुद प्रशिक्षण: रु. १ करोड
-
पौडी प्रशिक्षण केन्द्र: रु. ५० लाख
-
शहिद स्मृति खेलमैदान निर्माण: रु. १ करोड
-
माहेश्वरी खेलमैदान सुधार: रु. २ करोड
-
सीपमूलक तालिम: रु. २५ लाख
-
दीर्घरोगीलाई सहयोग निरन्तरता: जनही रु. १५ हजारको आर्थिक सहायता योजना जारी रहने
विविध योजनाहरूका लागि कूल रु. ९ करोड १४ लाख विनियोजन गरिएको छ।
उक्त नगरसभामा उपप्रमुख जोशीले “भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०८२” तथा “विनियोजन विधेयक २०८२” सभामा प्रस्तुत गर्नुभएको थियो। नगरसभाको अर्को बैठक असार १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ।