तामाकोसीमा निर्माणाधीन पक्की पुल फेरि भाँचियो

रामेछाप, ८ असार २०८२:

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ६ र वडा नं. ७ जोड्ने तामाकोसी नदीमाथिको निर्माणाधीन मोटरेबल पक्की पुल पुनः भाँचिएको छ।

निर्माणको अन्तिम चरणमा पुगेको उक्त पुल आइतबार बिहान अचानक भाँचिएको हो। यसअघि पनि यही पुल गत २०८२ वैशाख २५ गते आंशिक रूपमा भाँचिएको थियो। तर, अहिलेको घटनामा पुलका चार स्पानमध्ये बिचको एउटा स्पान पूर्ण रूपमा भुइँमा खसेको छ।

सडक विभागको लागतमा निर्माण भइरहेको २ सय ३० मिटर लामो सो पुलको निर्माण लागत रु. २२ करोड ५५ लाख रहेको छ। कालिका–कल्पवृक्ष जेभी निर्माण कम्पनीले पुल निर्माणको जिम्मेवारी लिएको हो।

गत वैशाखमा भाँचिएको स्पानको मर्मत कार्य भइरहेको बेला सोही स्पान पुनः पूर्ण रूपमा भाँचिएको हो। २०७८ सालदेखि निर्माण सुरु गरिएको पुल यही असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

पुल भाँचिनुको कारण हालसम्म स्पष्ट नभए पनि निर्माण कम्पनीले घटनाबारे प्राविधिक परीक्षणका लागि विशेषज्ञ टोली ल्याउने जनाएको छ। उक्त पुल निर्माण सम्पन्न भएपछि रामेछापको मन्थलीबाट काठमाडौँ तथा तराईतर्फको यात्रा छोटो र सहज हुने अपेक्षा गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!