काठमाडौं,
मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढिरहेको अवस्थामा विपद् व्यवस्थापनमा संलग्न हुन युवा संगठन वाइसीएल नेपाल, बागमती प्रदेश समितिले विशेष पहल थालेको छ।
नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लीग (वाइसीएल) बागमती प्रदेशले विपद् व्यवस्थापन तथा राहत तयारीका लागि आपतकालीन भर्चुअल बैठक सम्पन्न गरेको हो। प्रदेश अध्यक्ष नरेश रञ्जितको अध्यक्षतामा बसेको उक्त बैठकमा प्रदेशस्तरीय पदाधिकारी, जिल्ला अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो।
बैठकले प्राकृतिक प्रकोपबाट उत्पन्न जोखिमलाई मध्यनजर गर्दै प्रदेशमा अध्यक्ष रञ्जितको नेतृत्वमा तथा जिल्लाहरूमा जिल्ला अध्यक्षहरूको नेतृत्वमा विपद् व्यवस्थापन टोली गठन गर्ने निर्णय गरेको छ।
विपद् व्यवस्थापन टोलीमार्फत उद्धार, राहत, श्रमदान र पुनर्स्थापना कार्यमा वाइसीएल कार्यकर्ताहरूलाई सक्रिय रूपमा परिचालन गरिने प्रदेश अध्यक्ष रञ्जितले जानकारी दिए। साथै, टोलीहरूलाई स्थानीय सरकार र सुरक्षा निकायहरूसँग समन्वय गरी तत्काल उद्धार र राहत कार्यमा लाग्ने निर्देशन दिइएको छ।
बैठकमा सहभागी प्रतिनिधिहरूले आ–आफ्नो जिल्लामा देखिएका प्रारम्भिक चुनौतीहरू र संभावित जोखिमहरूको विश्लेषण प्रस्तुत गर्दै तत्काल कार्यान्वयन हुने योजनाहरू पनि साझा गरेका थिए।
बैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले विपद्को घडीमा वाइसीएल ‘जनताको साथी’को भूमिकामा सक्रिय भएकोमा सन्तोष व्यक्त गरे।
त्यस अवसरमा माओवादी केन्द्रका जनवर्गीय संगठन इन्चार्ज तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जमकट्टेल, वाइसीएलका केन्द्रीय अध्यक्ष पुष्प ओली लगायतले आवश्यक सुझाव र निर्देशन प्रस्तुत गरेका थिए।
वाइसीएल बागमतीले विपद् व्यवस्थापनमा अग्रसर भई जनताको सुरक्षामा सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ।
