काठमाडौँ, १३ असार २०८२ः
काठमाडौँ महानगरपालिका–१४ नम्बर वडा कार्यालयले वडाभित्रका युवाहरूलाई लक्षित गरी सीपमूलक फोटो, भिडियोग्राफी र भिडियो इडिटिङ तालिम सम्पन्न गरेको छ। नेपाल पेन काठमाडौँ मिडियासँगको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम जनपथ माध्यमिक विद्यालय, कलंकीको सभाहलमा भएको हो।
पाँच दिनसम्म फोटो र भिडियोग्राफी तथा १० दिनसम्म भिडियो इडिटिङ तालिम प्रदान गरिएको थियो। सीपमूलक प्रशिक्षणमार्फत युवालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको वडा अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो। उहाँले आगामी वर्षको बजेटमा एड्भान्स भिडियोग्राफी, फोटोग्राफी र भिडियो इडिटिङ तालिम समावेश गर्ने प्रतिबद्धता जनाउनुभयो।
समापन समारोहमा मङ्गलादेवी सिंह फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहले भिडियोग्राफी र इडिटिङ जस्ता प्रविधिमैत्री सीपले काठमाडौँका सांस्कृतिक सम्पदालाई विश्वबजारमा पुर्याउन टेवा पुर्याउने बताउनुभयो। “संस्कृतिको सही प्रस्तुति भए मात्र पनि जीविकोपार्जन सम्भव छ,” उहाँले भन्नुभयो। साथै, उहाँले आगामी वर्षदेखि तालिम एड्भान्स तहमा विस्तार गर्न सुझाव दिनुभयो।
कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेस काठमाडौँ–९ का सभापति जयकृष्ण महर्जनले वडाले सञ्चालन गरेका विभिन्न तालिममध्ये यो कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्नुभयो। उहाँले सीमित प्रतिभालाई एड्भान्स कोर्समार्फत व्यवसायिक क्षेत्रमा स्थापित गराउन बजेट छुट्याउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा प्रशिक्षक मनोज राजभण्डारी र अजय शर्मा, वडा सचिव जयदेव घिमिरे, वडा सदस्य अच्युत सापकोटा र समाजसेवी बिनोद डङ्गोललगायतले मन्तव्य राख्नुभएको थियो।