प्रत्येक वर्ष असार १९ गते भक्तपुरमा भ्रष्टाचार विरोधी दिवन मनाइन्छ । भक्तपुरका किसानहरु मिलेर भ्रष्ट बचत संस्थाका पदाधिकारीहरुलाई उल्टो टोपी लगाएर नगर परिक्रमा गराएको दिन हो भ्रष्टाचार विरोधी दिवस । यो आज भन्दा ५५ वर्ष अगाडिको कुरा हो । देश भित्र भ्रष्टाचार बढ्दै गइरहेको यो समयमा ५५ वर्ष अगाडि नै भक्तपुरका किसानहरुले आफ्नो बाली संकलन गरी बचत संस्था बनाएर पनि उक्त बचतबाट ब्यक्तिगत फाइदा लिन खोज्नेहरु एक थरी भ्रष्टाचारीहरुलाई त्यसरी कालो मोसो दलेर उल्टो टोपी लगाएर भक्तपुर नगर परिक्रमा गराएको यो दिनलाई हालसम्म पनि स्थानीय भक्तपुरका किसान मजदुर वर्गले भ्रष्टाचार विरोधी दिवसको रुपमा मनाउँदै आइरहेको छ । कुरा ५५ वर्ष अगाडि २०२६ साल असार १९ गतेको हो । त्यो बेला सम्म खेतमा किसानहरुको भरिभराउ पानी भैसकेको थियो । तर मल भने ल्याइ दिएन । त्यो भन्दा अघिल्लो साल भक्तपुरमा नवदुर्गा बहुमुखी सहकारी संस्था भनी एउटा संस्था स्थापना गरी किसानहरुसंग बाली उठाएर सो बाली बेची आएको दामले मल, किटनाशक औषधीका साथ साथै विभिन्न खालका आधुनिक बिउ बिजनहरु ल्याउने जिम्मेवारी संस्थाले लिएको थियो ।
नवदुर्गा बहुमुखी सहकारी संस्था स्थापनाको लागि भक्तपुरका सबै जसो किसानहरुसंग बाली उठाएको थियो । एक रोपनीको जग्गा धनी र मोही आफै भएकासंग नौ माना धान, जग्गा धनीसंग भए छ माना धान र मोहीसंग भए रोपनीमा तीन माना धानको हिसावले रोपनीको नौ माना धान संकलन गरी त्यसलाई बचत मानिएको थियो । त्यो बेला रुपियाँको चलन त्यति नभएकाले पनि किसानहरुसंग पाइने अन्न तीन माना, छ माना र नौ मानाका दरले तीन थरी गरी अन्न संकलन गरिएको थियो । तर उक्त अन्न संकलन गरी दाममा परिणत गरी जम्मा पारेको दामलाई सदुपयोग गर्नुको बदला दुरुपयोग गरेको पाइयो । त्यति मात्रै होइन कि उक्त रकम प्रयोग गरी किसानहरुलाई मल, धानको बिउ लगायत आधुनिक बिउ विजन ल्याई दिने भनेपनि त्यसलाई चितवन लगी बेचेर तोरी तथा मकै ब्यापार गरी निश्चित ब्यक्तिहरुले नाफा खाइरह्यो । समयमा बचत संस्थामा पैसा तिर्ने गरेन । यो कुरा एक कान दुई कान मैदान हुँदै गइरहेको थियो ।
असार १९ भइसक्दा पनि मल ल्याइदिन नसकेपछि उनीहरुको गतिविधि बारे किसानहरुलाई शंका उपशंका हुन थाल्यो । समयमै मल ल्याइ दिने भनेर आफूहरुसंग तीन माना, छ माना र नौ माना गरी जम्मा पारेको अन्न दुरुपयोग गरी निश्चित मानिसहरुले नाफा खाइरहेको थाहा पाएका किसान नेताहरु जागरुक भएर उनीहरुको बदला नलिई नहुने निश्चित गर्यो । यो कुरालाई रात्रीकालीन कक्षा सञ्चालन गरिरहेको चोटा बैठकमा राख्ने गर्यो । चीनको हुनान किसान आन्दोलनमा चुच्चे टोपी लगाएर जमिन्दारहरुलाई गाउँ घुमाएको इतिहास पढेका किसानहरुले एक भएर उक्त भ्रष्टाचारको विरुद्ध आवाज उठाउने निधो भयो । तत्कालीन अखिल नेपाल किसान संघको निर्देशन अनुसार बचत संस्थाका भ्रष्ट पदाधिकारीहरुलाई कालो मोसो लगाएर उल्टो टोपी लगाई नगर परिक्रमा गर्ने निर्धारण भयो । यो गोप्य योजना थाहा नपाएका मानिसहरु बंशगोपाल क्षेत्रमा रहेको डिपोमा गएपनि मल नभएको र माथिल्लो भागमा रहेको मल डिपोमा गएपनि मल नपाएको हैरानी भोग्नु परेपछि सचेत किसानहरुले मल ल्याउन बोकेर गएको बोरा भित्र जुत्ताको माला र ध्वाँसो समेच पोको पारेर गएका थिए । यो किसान जनता सचेत, संगठित र जागरुक भएर गरिएको उत्साहपूर्ण जनसहभागीताको परिणाम थियो ।
संगठित अभिब्यक्ति विनाका हरेक असन्तोषहरु प्राप्तिमा होइन बलिदानमा टुंगिन्छ । तर भक्तपुरमा यसरी किसान संगठन पहिला नै तयार थियो । अखिल नेपाल किसान संघ नामले २००७ साल पछि भक्तपुरमा बलियो संगठन बनेको थियो । त्यो बेला अखिल नेपाल किसान संघका पदाधिकारी र सदस्यहरुले नै किसान विरोधी कार्य गरी आफ्नो स्वार्थको लागि बचत संस्थाको दुरुपयोग गर्ने पदाधिकारीहरुलाई कारवाही गरी भ्रष्टाचार विरोधी आन्दोलनको सुरुवात भक्तपुरबाट गरिएको थियो । त्यो संगठन बलियो भएको कारणले मात्र त्यसरी संस्थाको नाममा ज्यादति गर्न खोज्ने भ्रष्ट पदाधिकारीहरुको विरुद्ध आवाज घन्काउन सफल भएको थियो । २०२५ साल श्रावण २ गते आफूहरु निर्वाचित भयौं भनेर नक्कली माइन्यूट बूक तयार पारी किसानहरुको आँखामा छारो हाल्ने गरेपछि एक हिसाबले सचेत र सतर्क भइरहेका किसान अगुवाहरुले त्यो बेला मल ल्याएर पनि आफ्ना मानिसहरुको लागि मात्रै पक्षपातपूर्णं रुपमा वितरण गरी मल रित्याई सकेको पनि राम्ररी बुझी सकेको थियो ।
विनास काले बिपरिक्त बुद्धि भने झैं एकातिर किसान जनता मल नपाएर आच्छु आच्छु भइरहेको थियो । अर्कोतिर एक ट्रिप मल भक्तपुर पुर्याएर पनि गोप्य रुपमा आफ्ना मानिसहरुलाई मात्रै मल वितरण गरी साधारण जनताहरुलाई मल सकियो, छैन भनी भुलाउने प्रयास भइरह्यो । २०२१ साल पछि आधुनिक बालीको रुपमा टाइचिन धानको बिउको लागि मल नभै नहुने भैसकेको थियो । त्यो भन्दा अगाडि जस्तै मल बिना पनि धान रोपेको खण्डमा साहुलाई धान बाली बुझाएपछि घर शून्य हुने अवस्था थियो । त्यसले गर्दा किसानहरु आक्रोशित हुनु स्वाभाविकै थियो । सोही समय संगठित अभिब्यक्तिको रुपमा किसान विरोधी बचत संस्थाको पदमा बसेर मल नल्याउने, भ्रष्ट कामहरु भइरहेको उजागर भयो । निहुँ पाएपछि किसानहरुलाई के चाहियो र ? बोरामा घुसाएर ल्याएको जुत्ताको माला र हाडीको ध्वाँसो लिएर आक्रोशित किसान जनताले नवदुर्गा बहुमुखी बचत संस्थाका भ्रष्ट पदाधिकारी कृष्णभक्त चौगुठी मंगलेचालाई अनुहारमा दली दियो । जुत्ताको माला लगाई दियो । यो २०२६ साल असार १९ गते बिहान ९ बजेतिरको घटना थियो ।
किसान मारा बचत संस्थाका अध्यक्ष र पदाधिकारीहरुले गरेको सो ज्यादतिको विरोधमा भक्तपुरमा किसान जनता उत्साहित भएर भ्रष्टहरुलाई जुत्ताको माला लगाएर कालो मोसो दलेको उक्त दिन सम्झेर प्रत्येक वर्ष भ्रष्टाचार विरोधी दिवस मनाइन्छ । आज निर्मल निवास, दिनबन्धु टी स्ट्रेट, पतन्जली जग्गा प्रकरण, नक्कली भूटानी शरणार्थी समस्या तथा भिजिट भिसाको नाममा करोडौं करोड रकम भ्रष्टाचार गरी खाएपनि त्यसलाई नियमित गर्न खोजिरहेको छ । यो समयमा भक्तपुरमा ५५ वर्ष अगािड चलेको भ्रष्टाचार विरोधी आन्दोलनबाट हामी सबैले पाठ सिक्नु पर्दछ । हिजो जनता संगठित नभएको बखत जनताले त्यस खालको जनकारबाही गर्न सक्छ भने आज विभिन्न राजनीतिक पार्टी, वर्गीय संगठनको साथै विभिन्न खालका दवाव समूहहरु सक्रिय भइसकेका छन् । उनीहरुको कार्य खाली निर्वाचनमा मत हाल्ने मात्रै होइन । संगठन बिस्तार गर्ने मात्रै होइन । बरु सत्य, न्याय र स्वतन्त्रता प्राप्तिको लागि ज्यान अर्पण गरेर भएपनि देशमा चलिरहेको अन्याय, अत्याचार र भ्रष्टाचारको समूल नष्ट पार्नु हुनु जरुरी छ । त्यसपछि मात्रै साँचो अर्थमा देशमा स्वतन्त्रता, प्रजातन्त्र र गणतन्त्र आएको सार्थक हुनेछ । जनताले नियमित रुपमा दुई छाक खाएर आराम पूर्वक जिउन पाउने मौलिक अधिकार प्राप्त हुनेछ ।