भक्तपुर, १९ असार २०८२ः
आयुर्बेद तथा बैकल्पिक चिकित्सालय भक्तपुरले जिल्लाबासीलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य सेवा निरन्तर प्रदान गरिरहेको छ। आज आयोजित आयुर्बेद सेवाको प्रबर्द्दन गर्न पत्रकार संगको अन्तर्क्रिया कार्यक्रममा आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै सेवा विस्तारबारे जानकारी गराएको हो।
चिकित्सालयका प्रमुख डा. नदन कंडेलका अनुसार भक्तपुरबासीबीच आयुर्वेदिक स्वास्थ्य सेवाप्रतिको आकर्षण र विश्वास बढ्दो छ। यही कारण वार्षिक रूपमा केन्द्रमा सेवा लिन आउने बिरामीको संख्या वृद्धि भइरहेको तथ्यांक उनले प्रस्तुत गरे।
डा. कंडेलले टिकटदेखि उपचारसम्मका सम्पूर्ण सेवा निःशुल्क रूपमा उपलब्ध हुने जनाए। साथै, स्वास्थ्य परीक्षणपछि २३ प्रकारका आयुर्वेदिक औषधि नि:शुल्क वितरण गरिँदै आएको उल्लेख गरे। बिरामीहरूलाई थप सुविधा होस् भन्ने उद्देश्यले चिकित्सालयले औषधि वितरण व्यवस्था पनि गरेको छ।
यस्तै, नाफा नलिने उद्देश्यले सञ्चालित औषधि बिक्री केन्द्रमार्फत बिरामीहरूले १० प्रतिशत छुटमा औषधि खरिद गर्न सक्ने सुविधा रहेको जानकारी गराइयो।
आयुर्बेद तथा बैकल्पिक चिकित्सालयको मुख्य कार्यालय कमलविनायकमा रहेको छ भने भक्तपुरका अन्य स्थानहरूबाट समेत यस्ता सेवा विस्तार गरिएको जनाइएको छ।