मध्यपुर थिमि, २० असार २०८२:
धार्मिक, पर्यावरणीय र भौगोलिक दृष्टिले अति संवेदनशील मानिने निलबाराही मन्दिर तथा वन क्षेत्रको पहिरो नियन्त्रणका लागि समन्वयात्मक पहललाई थप प्रभावकारी बनाउन मध्यपुर थिमि नगरपालिकाको आयोजनामा विशेष बैठक सम्पन्न भएको छ । बैठकमा पहिरो नियन्त्रण कार्यलाई दीर्घकालीन र दिगो बनाउन हालसम्मका प्रयासहरूको समीक्षा र आगामी रणनीतिबारे छलफल गरियो।

बैठकमा काठमाडौं उपत्यका विकास प्राधिकरण र नगरपालिकाद्वारा सम्पन्न टेण्डर प्रक्रिया, प्राविधिक अध्ययन तथा स्थानीय जनश्रमदानबाट भइरहेको कार्यको प्रगति प्रस्तुत गरियो। वरिष्ठ इन्जिनियर दिलीप गसी र जियोटेक्निकल इन्जिनियर राजेश्वरी श्रेष्ठले प्राविधिक पक्षका चुनौती र सुधार आवश्यकताबारे प्राविधिक प्रस्तुति राख्दै पहिरो नियन्त्रणका लागि थप सुदृढ उपायहरू आवश्यक रहेको बताएका थिए।

बैठकमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ , उपप्रमुख बिजय श्रेष्ठ , वडा अध्यक्षहरू, श्री निलबाराही क्षेत्र संरक्षण सरोकार समितिका पदाधिकारी तथा प्रतिनिधिहरू, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैठकले निलबाराही क्षेत्रको पहिरो नियन्त्रणमा सबै सरोकारवालाबीच सहकार्य, प्राविधिक सुधार र जनसहभागितालाई अझ सशक्त बनाउँदै दीर्घकालीन संरक्षण र विकासका लागि प्रतिबद्धता जनाएको छ।