पशु उपचारमा पारदर्शिता, पुर्जी लेख्न को महत्त्व र नीतिगत अनुशासनको खाँचो✍शम्भु पौड्याल

नेपाल जस्तो कृषि प्रधान देशमा पशुपालन किसानको आर्थिक मेरुदण्ड हो। तर जब कुनै पशु बिरामी पर्छ, त्यो केवल एक जनावरको समस्या रहँदैन—किसानको जीविकोपार्जन, परिवारको दैनिकी, र स्थानीय अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पार्ने गम्भीर अवस्था सिर्जना हुन्छ। यस्तो संवेदनशील घडीमा उपचारमा संलग्न पशु स्वास्थ्य प्राविधिक र जिम्मेवार सरकारी निकायको भूमिका अझ जिम्मेवार र पारदर्शी हुन आवश्यक छ।

हालसालै देखिन थालेको एउटा चिन्ताजनक प्रवृत्ति के हो भने, सरकारी निकायहरूबाट दिइने उपचार सिफारिस (prescription) हरूमा बजारमा सहज उपलब्ध नभएका, बन्देज लागेका, वा अत्यन्त महँगा औषधिहरू समावेश हुने गरेका छन्। अझ गम्भीर अवस्था तब देखिन्छ जब ती prescription मा औषधि व्यापारीहरूको नाम र मोबाइल नम्बर समेत खुलाइएको हुन्छ—जसले सरकारी सेवामाथि किसानको विश्वासमा गम्भीर प्रश्न उठाउँछ।

पशु चिकित्सक वा प्राविधिकहरूले उपचार सिफारिस गर्दा वैज्ञानिक आधार, परीक्षणको निष्कर्ष, र सरकारी मापदण्डअनुसार निर्णय लिनुपर्ने हो। तर औषधि कम्पनी वा व्यापारीको प्रभावमा परेर गरिएको औषधि सिफारिस किसानमाथि दोहोरो भार बन्छ। किसान एकातिर बिरामी जनावरको चिन्ताले आक्रान्त हुन्छन्, अर्कोतिर महँगो औषधि खोज्न धाउँदा आर्थिक शोषणमा पर्न बाध्य हुन्छन्।

नेपाल सरकारले सञ्चालनमा ल्याएको Central Veterinary Hospital जस्ता केन्द्रीय प्रयोगशालाले किसानका लागि विश्वसनीय सेवा दिनुपर्ने हो। तर त्यही संस्थाबाट आएको सिफारिसमा अनावश्यक व्यापारिक लाभ जोडिनु दुर्भाग्यपूर्ण अवस्था हो।

समस्या केबल उपचार सिफारिसमा सीमित छैन, यसले पशु चिकित्सकको नैतिकता, औषधि बजारको अनुशासन, र सरकारी नीतिगत संरचनामाथि नै प्रश्न खडा गर्छ। यसरी सरकारी संस्थाबाटै निषेधित वा महँगा औषधिको सिफारिस हुनु, औषधि व्यापारीको नम्बर खुलाइएको prescription किसानलाई आर्थिक भारमात्र होइन, सरकारी सेवा प्रणालीमा अविश्वास पनि गराउँछ।

हाम्रो आग्रह:

१. सरकारी निकायबाट गरिने उपचार सिफारिस पूर्णरूपमा वैज्ञानिक, व्यावसायिक र पारदर्शी हुनुपर्छ।
२. प्रतिबन्धित वा सहज उपलब्ध नभएका औषधि सिफारिस नगर्न स्पष्ट निर्देश जारी हुनुपर्छ।
३. किसानमैत्री औषधि प्रयोगमा प्राथमिकता दिनु अत्यावश्यक छ।
४. सरकारी prescription मा कुनैपनि किसिमको औषधि कम्पनी, व्यापारीको नाम वा मोबाइल नम्बर उल्लेख पूर्णरूपमा बन्द गर्नुपर्छ।
५. पशु स्वास्थ्य सेवामा नीतिगत अनुशासन, नीति नियमको पालना, र किसानप्रति इमानदारी कायम रहनुपर्छ।

पशु उपचार केवल औषधि दिने काम होइन, यो किसानको जीवन रक्षा गर्ने प्रक्रिया हो। यो कार्यमा गरिने सानो त्रुटिले ठूलो अविश्वास, आर्थिक भार र प्रणालीमाथि शंका जन्माउन सक्छ। त्यसैले सरकार, प्राविधिक, र बजारबीचको सन्तुलनमा पारदर्शिता र नैतिक मूल्यको पुनःस्थापना आवश्यक भइसकेको छ। पशु उपचारमा अब व्यापारिक सोच होइन, सेवा र निष्ठाको भावना हावी हुनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!