भक्तपुर, १ साउन २०८२ः
उद्योग तथा वाणिज्य कार्यालय सूर्यविनायक भक्तपुरको नवनिर्मित भवनको बिहीबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। बागमति प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले शिलापत्र अनावरण तथा रिबन काट्दै भवनको उद्घाटन गर्नुभएको हो।
सूर्यविनायक नगरपालिका–८ मा अवस्थित कार्यालय आफनै तीन रोपनी पाँच आना एक पैसा क्षेत्रफलको चार कित्ता जग्गामा फैलिएको छ। नयाँ भवन एक हजार चार सय वर्गफुट क्षेत्रफलमा साढे तीन तल्ले संरचनाका रूपमा निर्माण गरिएको हो। यसअघि त्यहाँ एकतल्ले जीर्ण भवन रहेको थियो।
बागमती प्रदेश सरकारको बजेटमा निर्माण भएको उक्त भवनको लागत अनुमानित तीन करोड ३१ लाख ३२ हजार एक सय ३६ रुपैयाँ २३ पैसा भए तापनि भवन दुई करोड ९५ लाख रुपैयाँमा सम्पन्न भएको जनाइएको छ।
उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापा, प्रदेशसभा सांसदहरू सुरेश श्रेष्ठ, डा. राजेन्द्रमान श्रेष्ठ, धनेश्वरी प्रजापति, भावना श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापतित्व कार्यालय प्रमुख रामप्रसाद कुस्माले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन शिक्षक लक्ष्मीप्रसाद कासुलाले गर्नु भएको थियो।