चितवन, २ साउन २०८२:
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), चितवन जिल्ला समन्वय समितिले चितवनमा वैदेशिक शिक्षा तथा कामदार भिसाका नाममा सञ्चालन भइरहेका अनधिकृत संस्थाहरुले सर्वसाधारणमाथि आर्थिक ठगी गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।
एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले वैदेशिक शिक्षाका नाममा खुलेका कतिपय शैक्षिक परामर्श केन्द्रहरूले अवैध रूपमा म्यानपावर कम्पनीको काम गरिरहेको, सेवा शुल्कका नाममा अत्यधिक रकम असुल गरिरहेको, र नाम, दर्ता ठेगाना तथा शाखा सञ्चालनमा समेत बेथिति देखिएको उल्लेख गरेको छ।
“शैक्षिक परामर्श दाताहरूले सेवा शुल्कको नाममा चर्को रकम असुल गर्ने, एउटा नाममा दर्ता भए तापनि अर्को नाममा प्रचार गर्ने, एक स्थानमा मात्र अनुमति लिएर विभिन्न ठाउँमा शाखा सञ्चालन गर्ने, र खुलमखुल्ला रूपमा क्षेत्राधिकारभन्दा बाहिर गएर कामदार भिसाका लागि रकम असुल गर्ने जस्ता अनियमितता सार्वजनिक भइसकेका छन्,” विज्ञप्तिमा उल्लेख छ।
संगठनले यस्ता गतिविधिहरूले सयौं व्यक्तिहरूलाई आर्थिक, सामाजिक तथा मानसिक समस्यामा पारेको दाबी गर्दै प्रशासन भने मौन बसेकोप्रति खेद व्यक्त गरेको छ।
अखिल (क्रान्तिकारी) चितवनले सम्बन्धित निकायलाई तत्काल यस्ता अनधिकृत तथा अवैध कार्यमाथि कडा कदम चाल्न माग गरेको छ। साथै, उठाइएका विषयमा गम्भीरता नदेखाए संघर्षका कार्यक्रमसहित आन्दोलनमा उत्रने चेतावनी पनि संगठनले दिएको छ।
