काठमाडौं।
अण्डाको उत्पादनमा आएको गिरावटसँगै यसको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। अण्डा उत्पादन घटेपछि मागअनुसार आपूर्ति नहुँदा मूल्यमा उल्लेख्य वृद्धि भएको हो।
नेपाल लेयर्स कुखुरा पालक सङ्घले साउन ५ गतेदेखि लागू हुने गरी नयाँ मुल्य सार्वजनिक गरेको छ। नयाँ मुल्य अनुसार ठूलो अण्डाको किसान मूल्य प्रतिक्रेट (३० वटाको) रु ५२५ र मध्यम अण्डाको रु ४९५ निर्धारण गरिएको छ।
चितवनलाई आधार मानी गरिएको मूल्य निर्धारणअनुसार बिक्री मूल्य (७ क्रेट बराबरको एक पेटी) पनि निर्धारण गरिएको छ जसअनुसार मध्यम अण्डाको रु ३,५९५ र ठूलो अण्डाको रु ३,८०५ प्रति पेटी कायम गरिएको छ। यो मुल्यमा प्रति पेटी रु १३० ढुवानी तथा कार्टुनको मुल्य समाबेश गरिएको छ।
नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यो मूल्य अहिले सम्मकै उच्च हो। पोखरेलका अनुसार अण्डाको लागत मूल्य प्रतिगोटा रु १६.५६ रहेको छ र किसानहरूले लामो समयपछि लागत मूल्य अनुसारको प्रतिफल पाउन थालेका छन्।
हाल दैनिक अण्डा उत्पादन २८–३० लाख गोटामा झरेको अनुमान गरिएको छ, जुन अघिल्लो उत्पादनको तुलनामा झण्डै आधा हो। उत्पादनमा आएको गिरावटको प्रमुख कारण बुढा कुखुरा बिक्री गरी नयाँ चल्ला हाल्न नसक्नु र अधिकाशं साना किसानहरूको व्यवसायबाट विस्थापन हुनु रहेको छ।
मूल्य वृद्धिका कारण किसानहरू उत्साहित देखिएका छन् भने बजारमा अझै मूल्य बढ्ने संकेत देखिन थालेको छ। माग उच्च तर आपूर्ति न्यून भएको वर्तमान अवस्थाले निकट भविष्यमा मूल्य अझ उकालो लाग्न सक्ने सङ्केत गरेको छ।