कृषि प्रविधिमा आधारित कर्जा प्रवाह सहज बनाउन नार्क र राष्ट्र बैंकबीच सहकार्यको पहल

काठमाडौं, ७ साउन २०८२ः

कृषि प्रविधिमा आधारित कर्जा प्रवाहलाई सहज बनाउन नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र नेपाल राष्ट्र बैंकबीच परामर्श बैठक सम्पन्न भएको छ।

सोमबार सिंहदरबार प्लाजामा सम्पन्न परामर्शमा दुबै संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नार्कका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाले प्रविधिमूलक कर्जा प्रवाहमा नार्कले सिफारिस तथा प्रमाणित प्रविधि, बीउबिजन र प्राविधिक जानकारी प्रदान गर्न सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले कृषि प्रविधिको विकास र प्रयोगमा परिषद् र बैंकबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

राष्ट्र बैंकको नियमन विभागका उपनिर्देशक मित्र तिम्सिनाले कर्जा प्रवाहअघि प्रविधिको आधिकारिक सिफारिस प्रक्रिया स्पष्ट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।

बैठकमा कर्जा प्रवाहसँग सम्बन्धित जोखिम व्यवस्थापन, लागत, प्रतिफल लगायतका पक्षमा विस्तृत छलफल भएको थियो। नार्कका वैज्ञानिकहरूबाट बैंक प्रतिनिधिहरूका जिज्ञासाको प्राविधिक रूपमा व्याख्या गर्दै सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ।

कार्यक्रममा राष्ट्र बैंकका सहायक निर्देशकहरू ललितकुमार शर्मा र उत्सवराज पन्तले कर्जा नीतिका पक्षहरू प्रस्ट्याउनुभयो भने नार्कका वरिष्ठ वैज्ञानिक रबिन गिरीले परिषद्बाट विकास भएका कृषि तथा पशुपालन प्रविधिको प्रस्तुति गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!