भोजपुर, ७ साउन २०८२ः
भोजपुरको पौवादुङमा गाउँपालिकाले प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित १२ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा निःशुल्क प्राविधिक शिक्षा दिने भएको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत सञ्चालित सुम्निमा बहुप्राविधिक शिक्षालय, भोजपुरमा अध्ययन गर्नका लागि आवेदन खुला गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो। उक्त छात्रवृत्ति कार्यक्रम तीनवर्षे डिप्लोमा तहका सिभिल इञ्जिनियरिङ, कृषि तथा पशु विज्ञान, र कृषि बाली विज्ञान विषयमा लागू हुनेछ।
गाउँपालिकाका अध्यक्ष किरण राईका अनुसार आर्थिक अवस्था कमजोर भएका तर पढाइमा इच्छुक र योग्य विद्यार्थीलाई शिक्षाबाट वञ्चित हुन नदिन कार्यक्रम ल्याइएको हो। “हामी यहाँकै युवाहरूलाई दक्ष जनशक्ति बनाउने लक्ष्यमा छौं,” अध्यक्ष राईले भन्नुभयो, “गुणस्तरीय प्राविधिक शिक्षा उपलब्ध गराउन गाउँपालिका पूर्ण सहयोग गर्न तयार छ।” यस योजनाअन्तर्गत हालैको एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ।
शिक्षामा पहुँच अभावका कारण पछि परेका ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गरी ल्याइएको यो कार्यक्रमले प्राविधिक क्षेत्रमा रोजगारी र आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ।