“मध्यपुर थिमिको विकास यात्रामा शिक्षा र स्वास्थ्य अग्रपंक्तिमा”: उपमेयर विजय श्रेष्ठ

मध्यपुर थिमि, ७ साउन २०८२ः
रत्न काजि प्रजापति

मध्यपुर थिमि नगरपालिकाका उपमेयर विजय श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अत्यन्तै महत्वपूर्ण मानेर स्थानीय सरकारले उल्लेखनीय काम गरिरहेको बताएका छन्। नेकपा (माओबादी केन्द्र)का नगर अध्यक्ष समेत रहेका उपमेयर श्रेष्ठले सामाजिक सञ्जाल मार्फत नगरपालिकाको वर्तमान प्रगति, प्राथमिकता र भावी योजनाको स्पष्ट झल्को दिएको छ।

श्रेष्ठका अनुसार संविधानले जनतालाई प्रत्याभूत गरेका आधारभूत अधिकारहरू विशेषगरी शिक्षा र स्वास्थ्य सशक्त स्थानीय सरकारमार्फत सहज रूपमा उपलब्ध गराउन सकिन्छ भन्ने उदाहरण नगरपालिकाले प्रस्तुत गरिरहेको छ। उनले भनेका छन्, “शिक्षा र स्वास्थ्य राज्यको जिम्मेवारी हो भने जनताको अधिकार पनि हो। यी दुई आधार विना समृद्ध राष्ट्र र सशक्त नागरिकको कल्पना गर्न सकिँदैन।”

स्वास्थ्य सेवाको सन्दर्भमा उनले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा पछिल्लो समय भएका सुधारहरूलाई उदाहरणीय बताए। मोडुलर अपरेसन थिएटरको स्थापनापछि अहिले दैनिक २० भन्दा बढी शल्यक्रिया हुने गरेको छ। डायलाइसिस सेवा सुरु भइसकेको छ भने आईसीयू निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। दक्षिण कोरियाको सहयोगमा एक अर्बभन्दा बढीको लगानीमा आधुनिक अस्पताल भवन निर्माण भइरहेको जानकारी समेत उनले दिए।

त्यस्तै, अस्पताल परिसर स्वच्छ र व्यवस्थित बनाइएको, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई नियमित तालिम प्रदान गरिएको, आमा सुरक्षा कार्यक्रम लागू गरिएको, साथै सीटी स्क्यान, अल्ट्रासाउन्ड, ईण्डोस्कोपी, कोलोनोस्कोपी जस्ता विशेषज्ञ सेवा सञ्चालनमा रहेको जनाइएको छ। जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा दलित समुदायका लागि निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराइएको छ।

नगरपालिकाले ब्लड बैंक स्थापना, निशुल्क रक्त सेवा सञ्चालन, नसर्ने रोग परीक्षण, जेष्ठ नागरिक आरोग्य कार्यक्रम तथा कडा रोग लागेकाहरूलाई वार्षिक २० हजार रुपैयाँ आर्थिक सहयोग दिने कार्यक्रम पनि अघि सारेको छ। शहरी स्वास्थ्य क्लिनिकहरूमा नियमित औषधि आपूर्ति भइरहेको छ भने होमियोप्याथिक सेवा सुरु गर्ने नेपालकै पहिलो स्थानीय सरकारका रूपमा मध्यपुर थिमिले उदाहरण प्रस्तुत गरेको छ। आयुर्वेद सेवा पनि वडास्तरसम्म विस्तार गरिएको जानकारी उनले दिएका छन्। स्वास्थ्य क्षेत्रमा यस वर्ष थप बजेटको व्यवस्था गरिएको छ जसले सेवा अझ व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

शिक्षाको क्षेत्रमा पनि नगरपालिका विशेष सक्रिय रहेको उपमेयर श्रेष्ठले स्पष्ट पारेका छन्। जनआदर्श क्याम्पसको भवन निर्माण कार्य करिब १० करोडको लागतमा अगाडि बढिरहेको छ भने जनक सिद्धिकाली माविको पुरानो भवन भत्काएर नयाँ भवन निर्माण हुने क्रममा रहेको छ। नगरपालिकाले शिक्षक दरबन्दी अपुग रहेका विद्यालयहरूमा आवश्यक व्यवस्था गरेको छ।

सामुदायिक विद्यालयहरूका लागि अतिरिक्त क्रियाकलाप शिक्षक व्यवस्था गरिएको छ। दिवा खाजा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। त्यस्तै, व्यावसायिक तालिमका रूपमा टेलिकम टेक्निसियन, कुक तालिमलगायत कार्यक्रम सञ्चालन गरिएको छ। विद्यालय तहमै वृत्ति मार्ग निर्देशन कक्षा सञ्चालन गरिएको छ र आवश्यक ल्याब पनि उपलब्ध गराइएको छ।

उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरिने परम्परा कायम गरिएको छ। सामुदायिक विद्यालयहरूमा आवश्यक पूर्वाधार निर्माणका लागि अनुदान दिइएको छ भने विद्यार्थीहरूलाई पाठ्यसामग्री समेत वितरण गरिएको छ। नेपाल भाषामा पाठ्यपुस्तक निर्माण तथा शिक्षण तालिमका लागि बजेट व्यवस्था गरिएको छ।

स्थानीय पाठ्यक्रम सञ्चालनमा आइसकेको छ र पाठ्यपुस्तक निर्माण प्रक्रिया अघि बढाइएको छ। संस्थागत विद्यालयमा छात्रवृत्तिको विषयमा हाल ५ प्रतिशत नगरपालिका र ५ प्रतिशत विद्यालयबाट दिइँदै आएकोमा अभिभावकहरूले नगरपालिकाबाटै १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने माग गर्न थालेको जानकारी समेत श्रेष्ठले दिएका छन्। यस सम्बन्धमा अन्य पालिकासँग सहकार्य गर्दै अगाडि बढ्ने योजना रहेको उनले उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!