काठमाडौं, १२ साउन २०८२ः
कृषक तथा पशुपालक बीच लोकप्रियता कमाउँदै आएको पूर्वाञ्चल एग्रीटेक प्रा.लि. ले आफ्नो व्यापारिक क्षेत्र विस्तार गर्दै आजदेखि काठमाडौं–१६, बालाजुमा नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ।
यसअघि बिर्तामोड र बर्दिबासमा बिक्री केन्द्र मार्फत सफलतापूर्वक सेवा सञ्चालन गर्दै आएको कम्पनीले राजधानीमा सेवा सुरु गर्नुको उद्देश्य पशुपालन व्यवसायमा संलग्न किसानलाई गुणस्तरीय, भरपर्दो र सुलभ मूल्यमा दाना उपलब्ध गराउनु रहेको जनाएको छ।
कम्पनीका अध्यक्ष दिल कुमार लामिछानेले बिक्री केन्द्रको शुभारम्भ गर्दै भने “हाम्रो उद्देश्य केवल व्यवसाय होइन, किसानलाई आत्मनिर्भर बनाउन गुणस्तरीय दाना प्रदान गरी उत्पादन बढाउन सहयोग गर्नु हो। हामी सेवा, गुणस्तर र पारदर्शितामा विश्वास गर्छौं।”
बालाजुस्थित नयाँ बिक्री कक्षमार्फत कम्पनीले विभिन्न प्रजातिका पशुपन्छीलाई लक्षित गर्दै उत्पादन गरिएका दाना उपलब्ध गराउनेछ। बिक्री केन्द्र मार्फत ब्रोइलर दाना, लेयर्स दाना, गिरिराज दाना, गाई दाना र बङ्गुर दाना उपलब्ध हुनेछ।
कम्पनीले उत्पादनमा वैज्ञानिक विधिको प्रयोग गर्दै पोषण तत्व मिलाइएको दाना बजारमा ल्याउँदै आएको छ। अध्यक्ष लामिछानेका अनुसार दानाको गुणस्तर, सन्तुलित पोषण र नियमित आपूर्तिका कारण पूर्वाञ्चल एग्रीटेक देशभरका कृषकहरूबीच छिट्टै लोकप्रिय बन्न सफल भएको हो।
पछिल्लो समय व्यावसायिक पशुपालनमा कृषकको आकर्षण बढिरहेका बेला पूर्वाञ्चल एग्रीटेकले किसानको मिहिनेतलाई सम्मान गर्दै भरपर्दो साझेदारको रूपमा उभिने प्रयत्न गर्दै आएको छ। कम्पनीले ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप जिल्लाहरूमा सेवा विस्तार गर्ने तयारी पनि गरेको जनाएको छ।