भक्तपुर ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनका मुख्य प्रतिस्पर्धी तीन संगठन अहिले कसरी चुनाव जित्ने भन्ने ध्याउन्नमा छन् । तर, भक्तपुर क्याम्पसमा अबस्था फरक छ । अन्यत्र मुख्य प्रतिस्पर्धी बनेका नेपाल विद्यार्थी संघ, अनेरास्ववीयु र अखिल क्रान्तिकारी भक्तपुरमा मिलेर उमेदवारी दिएका छन् ।
नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेक्राबिसंघको दवदवा रहेका कारण नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका भातृ संगठन एक भएर चुनाव लड्न लागेका हुन् । एक्ला एक्लै उठ्दा चुनाव जित्न नसक्ने भएपछि प्रतिस्पर्धी संगठन एक भएर चुनाव लड्न लागेको क्रान्ति्कारीका एक बिद्यार्थि नेताले बताए ।
ती नेताका अनुसार, भक्तपुर क्याम्पसको स्वबियुमा सभापति र को्षाध्यक्षमा नेविसंघले उम्मेदवारी दिनेछ । त्यसैगरी उपसभापति र सचिवमा अखिलका उम्मेदवार रहनेछन् भने सहसचिवमा क्रान्तिकारीका उम्मेदवारलाई सघाउँने सहमति बनेको छ । सदस्यमा पनि तीनवटै संगठनका उम्मेदवारले संयुक्त रुपमा उम्मेदवारी दिने बताइएको छ ।
आगामी चैत ५ गते त्रिभुवन विश्वविद्यालय (त्रिवि) का ६२ वटा आङ्गिक क्याम्पसमा स्ववियू निर्वाचन हुँदैछ । जसमा करिब एक लाख ६३ हजार ८२ विद्यार्थी मतदाता छन् । जसमध्ये काठमाडौं उपत्यकाका २१ क्याम्पसमा निर्वाचन हुँदैछ । ती क्याम्पसमा ६६ हजार छ सय ४६ र उपत्यका बाहिरका ४० क्याम्पसमा ९६ हजार चार सय ३६ विद्यार्थीले स्ववियू निर्वाचनमा भागलिने त्रिविले जनाएको छ ।