काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा दुई हजार ३९२ जना सहभागी हुने भएका छन्। महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरीस्थित सनराइज हलमा हुने तय भएको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागीमध्ये दुई हजार १२८ जना प्रतिनिधि र २६४ जना आयोजकका रूपमा रहनेछन्। विसं २०७८ मा चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनमा सहभागी हुने भएकाले केही केन्द्रीय सदस्य पनि आयोजककै भूमिकामा रहने बताइएको छ।
महाधिवेशनको तयारी तीव्र गतिमा भइरहेको र सहभागी प्रतिनिधिलाई डिजिटल कार्डको व्यवस्था हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो। कार्यक्रममा कम्तीमा ३०० जना स्वयंसेवक खटाइने र सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्न व्यवस्थित ‘समाचार डेस्क’ समेत स्थापना गरिने भएको छ।
महाधिवेशनलाई भव्य बनाउन सातदोबाटोदेखि गोदावरीसम्म विभिन्न स्थानमा स्वागतद्वार राख्ने, सार्वजनिक यातायातको व्यवस्था गर्ने र आवश्यक अन्य पूर्वतयारीसमेत भइरहेको गौतमले बताउनुभयो।
उनका अनुसार यही भदौ १० गतेसम्म मातहतका कमिटीले विधानसम्बन्धी सुझाव पेस गर्न पाउनेछन्। महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।