हेटौँडा – बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि आज (भदौ १ गते) बाट प्रदेशव्यापी खोप अभियान सुरु गरेको छ। अभियान भदौ ७ गतेसम्म चल्नेछ।
अभियानको उद्घाटन ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–१ मा कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले गर्नुभयो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्षको अभियानअन्तर्गत १३ वटै जिल्लामा १ लाख २० हजार पशुलाई खोप लगाइने लक्ष्य रहेको छ।
वरिष्ठ पशु विकास अधिकृत डा. राम प्रकाश प्रधानका अनुसार सबैभन्दा बढी चितवनमा ३० हजार, मकवानपुरमा २५ हजार, काभ्रेपलान्चोकमा १४ हजार, नुवाकोट र सिन्धुलीमा १२–१२ हजार, धादिङमा ११ हजार, ललितपुरमा १० हजार र दोलखामा ६ हजार डोज खोप पठाइएको छ। खोपको आपूर्ति सङ्घीय सरकारले गर्ने र खोप लगाउने खर्च बागमती प्रदेश सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ।
असार र साउन महिनामा मात्र लम्पी स्किन रोगका कारण प्रदेशमा ७४ पशु चौपायाको मृत्यु भएको छ भने १ हजार ६३३ पशुमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। विशेषगरी मकवानपुर, सिन्धुली, काभ्रेपलान्चोक र सिन्धुपाल्चोकमा सङ्क्रमण बढी देखिएको छ।
यो रोग लागेपछि पशुको दूध उत्पादन २५ देखि ६५ प्रतिशतसम्म घट्ने गरेको छ। मन्त्रालयका तथ्यांकअनुसार गत आर्थिक वर्षमा ७१ हजार ९७७ पशुलाई र २०८०/८१ मा ४८ हजार ३६४ पशुलाई खोप लगाइएको थियो। बागमती प्रदेशमा वार्षिक ४ लाख ८१ हजार ७ सय मेट्रिक टन दूध उत्पादन हुने गरेको छ।