काठमाडौँ, ६ भदौ २०८२:
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ जारी गरेको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वीकृत गर्नुभएको यो निर्देशिकाले अब देशभर सञ्चालनमा रहेका एम्बुलेन्स सेवा एकीकृत प्रेषण केन्द्रमार्फत एकद्वार प्रणालीमा सञ्चालन हुने व्यवस्था गरेको छ ।
निर्देशिका अनुसार जुनसुकै ठाउँबाट ‘१०२’ नम्बरमा सम्पर्क गरी एम्बुलेन्स सेवा लिन सकिनेछ । साथै, सबै एम्बुलेन्सलाई जीपीएस प्रणालीमा आबद्ध गर्ने प्रावधान गरिएको छ ।
एम्बुलेन्स सेवाको गुणस्तर र शुल्कमा एकरूपता ल्याउन, नियमन गर्न तथा वर्गीकरण गर्ने व्यवस्था पनि निर्देशिकाले गरेको छ । गरिब, असहाय तथा विपदमा परेकालाई निःशुल्क सेवा उपलब्ध गराउनुपर्ने प्रावधान समेत समावेश गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार, छरिएर प्रदान हुँदै आएको एम्बुलेन्स सेवालाई एकीकृत सञ्जालमा ल्याई आकस्मिक उपचार सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने र सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने उद्देश्यले यो निर्देशिका ल्याइएको हो ।
निर्देशिका कार्यान्वयनसँगै देशभरका एम्बुलेन्स सेवाहरू एकीकृत सञ्जालमा आबद्ध भई थप व्यवस्थित, प्रभावकारी र पहुँचयोग्य हुने अपेक्षा गरिएको छ ।