कीर्तिपुर, रिदेन महर्जन।
बहुप्रतिक्षित वीराङ्गना कीर्तिलक्ष्मीको प्रतिमा बाघभैरव मन्दिर प्राङ्गणमा उद्घाटन गरिएको छ ।
कीर्तिपुर वडा नं १ का अध्यक्ष इच्छा कुमार महर्जनको स्वागत मन्तव्यपछि गुँदेय दापा खलले सुमंगल धुन बजाएपछि कार्यक्रम सुरु भएको थियो । त्यसपछि प्रमुख अतिथि बाग्मती प्रदेश सांसद तथा पूर्वमन्त्री पुकार महर्जन र विशिष्ट अतिथि कीर्तिपुर नगरप्रमुख कृष्णमान डंगोलले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै सेतो कपडाले ढाकिएको रिबन काटी प्रतिमाको उद्घाटन गरेका थिए ।
कार्यक्रममा इतिहासविद् तथा संस्कृतिविद् प्रयागमान प्रधानले ‘आजको दिन कीर्तिपुरवासीका लागि गौरवपूर्ण भएको’ बताए । उनले कीर्तिपुर र गोर्खालीबीच चार पटक युद्ध भएको स्मरण गर्दै त्यस क्रममा वीराङ्गना कीर्तिलक्ष्मीको साहसिक योगदान इतिहासमा पर्याप्त रूपमा उल्लेख नभएको बताए । गोर्खाली सेनाबाट उनी बलात्कार प्रयासपछि हत्या हुन पुगेको र त्यसलाई प्रचारमा ल्याउँदा नकारात्मक प्रभाव पर्ने भन्दै उनको नाम लुकाइएको धारणा प्रस्तुत गरे ।
प्रधानले कीर्तिलक्ष्मी सम्बन्धी कुनै अभिलेख शासकवर्गको इतिहासमा नभए पनि कीर्तिपुरवासीले आफ्नो पीडा र गौरवलाई जीवन्त राख्दै साहित्य, नाटक, चलचित्र र उपन्यासमार्फत अगाडि ल्याएको बताए । ‘आजको दिनमा उनको पुनःकदसहितको प्रतिमाले पूर्णता पाएको छ, यो कीर्तिपुरकै होइन, समग्र इतिहासकै सान हो,’ उनले भने ।
कीर्तिलक्ष्मी निर्माण उपभोक्ता समितिका अध्यक्ष शुद्वरत्न महर्जनले कीर्तिपुर–गोर्खाली युद्ध भएको स्थानमै प्रतिमा स्थापना गरिएको जानकारी गराए । उनले कीर्तिपुर प्रवेशद्वारका १२ ढोकामा पनि वीराङ्गना कीर्तिलक्ष्मीको प्रतीकस्वरूप शालिक स्थापना गर्नुपर्ने सुझाव दिए । साथै, प्रतिमा निर्माण जेठ १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य भए पनि जेठ २२ गते—कालुपाण्डे वध भएको र कीर्तिपुर विजय भएको दिनमै स्थापना गरिएको जानकारी दिए ।
उनले ललितपुर दरबारको मुलचोकमा नेपाल संवत ८८२ को अभिलेखमा कीर्तिलक्ष्मीको नाम उल्लेख भएको तथ्य प्रस्तुत गर्दै ‘धनवन्तकाजी, उनका छोरा धवन्त र कीर्तिलक्ष्मी भारो’ नाम काल्पनिक नभएको स्पष्ट पारे ।
कीर्तिपुर वडा नं १० का अध्यक्ष नरेश महर्जनले कीर्तिपुरका पुरुष मात्र नभई महिलाहरू पनि यथार्थमै वीर रहेकाले कीर्तिलक्ष्मी सम्पूर्ण कीर्तिपुरवासी दिदीबहिनीहरूको गौरव बनेको बताए ।
विशेष अतिथि नगरप्रमुख कृष्णमान डंगोलले ‘कीर्तिपुरको इतिहास देशकै इतिहाससँग जोडिएको छ’ भन्दै लोप भएका सम्पदा पुनःनिर्माण गर्न नगरपालिका अग्रसर रहेको बताए । उनले ग्वाः पूखु उत्खननका लागि १० लाख बजेट छुट्याइएको र नारायण मन्दिर पुनःनिर्माणका लागि यस वर्ष ५० लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।
त्यसैगरी, प्रमुख अतिथि तथा पूर्वसंस्कृति, पर्यटन मन्त्री पुकार महर्जनले पृथ्वीनारायण शाहले मानव अधिकार उल्लङ्घनमार्फत मात्र कीर्तिपुर कब्जा गरेको बताए । उनले कीर्तिलक्ष्मीले १२ वर्ष लामो युद्धमा देखाएको साहस र नेतृत्वलाई विश्वसमक्ष प्रचार–प्रसार गर्न सके पर्यटनमार्फत आर्थिक समृद्धिमा योगदान पुग्ने धारणा राखे ।
कार्यक्रम संयोजक नजराम महर्जनले प्रतिमा निर्माणमा ‘कीर्तिलक्ष्मी काल्पनिक हुन्’ भन्ने तर्क राखी अवरोध सिर्जना भए पनि अन्ततः मन्त्री पुकार महर्जनले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि सम्भव भएको बताए । उनले प्रतिमाको उद्घाटनलाई मात्र पर्याप्त नभई ‘स्थापना दिवस’ का रूपमा मनाउँदै स्मारकलाई अमर बनाउन आग्रह गरे ।
सम्पदाप्रेमी तथा कार्यक्रम सञ्चालक बुद्ध महर्जनले कीर्तिपुरलाई सांस्कृतिक नगरका रूपमा विकास गर्न सम्पूर्ण सरोकारवालाको सहयोग आवश्यक भएको उल्लेख गर्दै कार्यक्रम समापन गरेका थिए ।